समाचार

हिमाल आरोहण अनुमति लिने करीव ५ सय पुगे

काठमाडौं । वसन्त ऋतुमा नेपालमा हिमाल चढ्न अनुमति लिनेको संख्या करीव ५ सय पुगेको छ । सगरमाथासहित हिमाल आरोहण गर्न अनुमति लिने आरोहीको संख्या मंगलबारसम्म ४९२ पुगेको हो । पर्यटन विभागको तथ्यांक अनुसार सगरमाथा चढ्न यो सिजनमा ३० समूहका २ सय ९० जनाले अनुमति लिएका छन् ।

तथ्यांक अनुसार ल्होत्सेमा ७ समूहका ५५ जनाले अनुमति लिएका छन् । अन्नपूर्णमा ४४ र धौलागिरि आरोहण गर्न ३० जनाले अनुमति लिएका छन् । अमादब्लममा भने २ समूहका २७ जना आरोही जाने छन् । मनास्लुमा एक जनाले अनुमति लिएका छन् । मकालुमा एक समूहका ८ जना जाने छन् ।

नुप्त्सेमा ३ समूहका २३ जनाले आरोहण अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ । पुमरीमा ५ जना, टुकुचेमा १ जना र तिलिचोमा ८ जनाले अनुमति लिएको तथ्यांक रहेको छ । मंगलबारसम्म जारी भएका आरोहण अनुमतिबाट कुल ४० करोड १६ लाख रुपैयाँ रोयल्टी संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।