फिचर

६ हजार २४६ विद्यालयको पुनर्निर्माण सम्पन्न

काठमाडौं । भूकम्पले भत्काएका देशभरका ६ हजार २४६ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार देशभर सात हजार ५५३ विद्यालय पुनर्निर्माण गर्नुपर्ने अवस्थामा भत्किएका थिए । त्यसमध्ये ६ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको छ । बाँकी एक हजार ३०७ विद्यालय असारसम्म पुनःनिर्माण गरिसक्ने प्राधिकरणको तथ्यांक छ ।

आयोजनाले भूकम्पबाट क्षतिग्रस्त भएका ३१ जिल्लाका सात हजार ५५३ विद्यालयको पुनःनिर्माण विसं २०७२ बाट गर्न थालेको हो। विसं २०७२ को भूकम्पले अतिप्रभावित १४ र कम प्रभावित १७ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५८४ कक्षा कोठामा क्षति पुगेको थियो। क्षति भएकामध्ये एक हजार ५१९ विद्यालयको पुनःनिर्माणको काम हुन नसकेको राससले जनाएको छ ।

जग्गा विवाद, पुरातत्वको कारणले ती विद्यालयको पुनःनिर्माण हुन नसकेको हो। अहिलेसम्म सात हजार ५५३ विद्यालयका ४८ हजार ७११ कोठामध्ये ३५ हजार ५८ कोठा सम्पन्न र १३ हजार ६५३ कोठा अन्तिम चरणमा रहेका छन्। पाँच हजार ३६ शौचालयमध्ये दुई हजार ७०७ सम्पन्न र दुई हजार ३२९ निर्माणाधीन रहेका छन्।

एक हजार ७०१ खानेपानीमध्ये २१६ सम्पन्न र एक हजार ४८५ निर्माणाधीन रहेका छन्। क्षति भएकामध्ये ३२७ वटा विद्यालय मर्ज भएका र १५३ विद्यालय सञ्चालनमा छैनन्। विद्यालय भवन पुनःनिर्माणका लागि रु एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख आवश्यक पर्नेमा हालसम्म रु ५३ अर्ब १९ करोड ३९ लाख खर्च भइसकेको छ।