फिचर

नेदरल्याण्ड्समाथि कीर्तिमानी जित निकालेको नेपाललाई थ्रि नेसन्स सिरिजको उपाधी

काठमाडौं । नेपालले थ्रि नेसन्स क्रिकेट सिरिजको उपाधी उचालेको छ । नेदरल्याण्ड्स विरुद्ध आज भएको फाइनलमा नेपालले कीर्तिमानी जितसँगै उपाधीमाथि कब्जा जमाएको हो । घरेलु मैदानमा नेपालले अहिलेसम्मकै फराकिलो अन्तरको जित निकाल्न सफल भयो । आज फाइनलमा नेपालको ब्याटिङ र बलिङ दुवैमा खेलाडी जम्न सफल भए ।

नेपालले नेदरल्याण्ड्समाथि १४२ रनको जित निकाल्यो । कुशल भुर्तेलले सिरिजमा चौथो अर्धशतक बनाउने क्रममा आज पनि उत्कृष्ट पारी खेले । कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरी समेत आज चलेका छन् ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २३८ रन जोड्यो । यो नेपालले अहिलेसम्म बनाएको सबैभन्दा ठूलो स्कोर हो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाउँदा मात्र ९६ रन जोड्न सक्यो । नेदरल्याण्ड्समाथि हात पारेको १४२ रनको जित टी २० अन्तराष्ट्रियमा नेपालको कीर्तिमान हो ।

साथै नेपालले घरेलु मैदानमा ११ वर्षपछि पहिलो पटक उपाधि समेत जित्न सफल भयो । सन् २०१० मा नेपालमै भएको आईसीसी डिभिजन फाइभको उपाधि जितेयता नेपाल घरेलु मैदानमा उपाधीबिहिन थियो । कुशल भुर्तेल म्यान अफ दी सिरिज घोषित भए ।