विश्व

भारत यात्रामा अष्ट्रेलियाको कडा नियम, स्वदेश फर्किए ५ वर्ष जेल

Photo source : technotrenz.com

सिड्नी । अष्ट्रेलियाको सरकारले अहिले भारत भ्रमणमा जानु गैरकानूनी भएको घोषणा गरेको छ । उसले आफ्ना नागरिकलाई भारत भ्रमणबाट फर्किएर अष्ट्रेलियामा आए ५ वर्षसम्मको जेल सजाय हुन सक्ने नियम ल्याएको बीबीसीले जनाएको छ । भारतमा कोरोनाभाइरस सङ्क्रमित भई क्वारन्टीनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको सङ्ख्याका आधारमा पछिल्लो निर्णय लिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै साताको शुरूतिर अस्ट्रेलियाबाट भारतबाट हुने सबै उडानमाथि प्रतिबन्ध लगाइएको थियो। भारतमा अहिले अनुमानित ९ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई जोखिम समूहमा राखिएको छ। भारतबाट फर्किरहेका अस्ट्रेलियाका नागरिकको सङ्ख्यासँग सरकारको कदम भने असुहाउँदो भएको भन्दै आलोचना भइरहेको छ ।

आफ्नो परिवार भारतमा मरिरहेको अवस्थामा सरकारले त्यहाँबाट निकाल्नुको साटो स्वदेश आएमा कारवाही गर्ने नीति ल्याएको छ । सोमवारबाट लागु हुने गरी अस्ट्रेलिया पुग्नु १४ दिनअघि भारतमा रहेको भए त्यस्ता मानिसहरूलाई स्वदेश फर्कन प्रतिबन्ध लगाइएको बीबीसीले लेखेको छ। त्यसको उल्लङ्घन गर्नेहरूलाई पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना अथवा दुवै सजाय हुन सक्छ।