फिचर

१ साउनबाट नेपालमा श्रमिकको पारिश्रमिक मासिक १५ हजार

काठमाडौं । नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आगामी १ साउनबाट लागू हुने गरी पारिश्रमिक वृद्धि गर्ने निर्णय भएको छ । अब श्रमिकको मासिक पारिश्रमिक १५ हजार पुगेको छ । यसअघि श्रमिकको न्यूनतम पारश्रमिक १३४५० रुपैयाँ थियो । आधारभूत पारिश्रमिक ९३८५ मा ५६१५ रुपैयाँ महंगी भत्ता थप गरी १५ हजार पारिश्रमिक पुर्‍याइएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत न्यूनतम पारिश्रमिक बढाउने निर्णय हुने बताएका थिए । अब नेपालमा श्रमिकले दैनिक ५७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ आम्दानी गर्नेछन् ।यसअघि दैनिक ५१७ रुपैयाँ र प्रतिघण्टा ६९ रुपैयाँ रहेको थियो । तोकिएको पारिश्रमिकको अतिरिक्त श्रम ऐनअनुसार पाउने सञ्चयकोष, उपदानसहितका सुविधा समेत उद्योग-प्रतिष्ठानले प्रदान गर्नुपर्नेछ ।

स्थानीय सरकारहरुले आफैले न्यूनतम पारश्रमिक तोक्न सक्ने अधिकारको प्रयोग गर्दा समेत अब अहिले तोकिएभन्दा कम हुनु हुन पाउने छैन । तोकिएकोभन्दा कम पारिश्रमिक दिने गरी रोजगार सम्झौता गर्न नपाइने समेत सूचनामा जनाइएको छ ।