मनोरञ्जन

अप्रिलमा भित्रिए साढे २२ हजार पर्यटक, अमेरिकाबाट मात्र २७४०

काठमाडौं । नेपालमा कोरोना महामारी शुरु भएयता अप्रिल महिनामा सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका छन् । एकातर्फ पर्वतारोहणको मौसम र अर्कोतर्फ नेपाललाई ट्रान्जिट बनाउँदै भारतीय नागरिक तेस्रो मुलुक उडेका कारण यो महिनामा पर्यटक आगमन बढेको हो । अध्यागमन विभागका अनुसार अप्रिलमा विदेशबाट कुल २२ हजार ४ सय ५० विदेशी नागरिक नेपाल आएका छन् ।

तथ्यांकअनुसार अप्रिल २०२१ मा भारतबाट १३२०२ जना भारतीय नागरिक नेपाल आएका छन् । नेपालबाट ११३२१ भारतीय नागरिक बाहिरिएका छन् । अमेरिकाबाट २७४० जना पर्यटक नेपाल आएका छन् । यूरोप र अमेरिकाबाट आएका अधिकांश पर्यटक भने पर्वतारोहण र पदयात्रामा आएका हुन् ।

नेपालमा तुलनात्मक रुपमा जनघनत्व कम रहेका कारण अवस्था थोरै सामान्य हुँनासाथ यी मुलुकबाट पर्यटक बढ्ने गर्छन् । यसले पर्यटन व्यवसायीमा समेत उत्साह थप्ने गरेको छ । मार्च शुरु भएसँगै कोरोना नियन्त्रणका लागि नेपालमा समेत यात्रामा विभिन्न प्रकारको प्रतिवन्ध शुरु भइसकेको छ । यो अवधिमा चीनबाट भने ८ सय ३ जना नागरिक आएका छन् ।

रुसबाट ६८५ जना आएको तथ्यांक छ । बेलायतबाट ५४० जना आएका छन् । युक्रेनबाट ३१३, जर्मनीबाट २१९, फ्रान्सबाट १६१, टर्कीबाट १९३, पोल्याण्डबाट १७४, नेदरल्याण्ड्सबाट १३६ जना पर्यटक नेपाल आएका छन् । पाकिस्तानबाट २१० र क्यानडाबाट १८५ जना नेपाल आएको तथ्यांक विभागले जनाएको छ ।