समाचार

अमेरिकामा जेनेवरीदेखि बेपत्ता भएका अजय शाहको मृत शरीर फेला पर्‍यो

न्युयोर्क

गत जेनेवरीदेखि हराएका ड्रिउ युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीको मृत शरीर फेला परेको छ । नेपाली विद्यार्थी अजय शाहको मृत शरीर ब्रुकलिनस्थित एंकोरेज च्यानलमा फेला परेको मोरिस काउन्टी अभियोजकको कार्यालयले पुष्टि गरेको छ । अभियोजकको कार्यालयका अनुसार शाहको मृत्‍युमा हत्याको शंका नभएको स्थानीय पत्रिका प्याचले कार्यालयको प्रबक्ताको हवाला दिदै लेखेको छ ।
२२ वर्षीय मृतक शाहलाई अन्तिम पटक जेनेवरी १९ मा क्याम्पसमा देखिएको थियो भने तीन दिनपछि हराएको सुचना प्रकाशित गरिएको थियो । शाह न्युजर्सीबाट न्युयोर्क पेन स्टेसन जाने ट्रेन चढेको र हातमा क्यामरा बोकेर ब्रुकलिन ब्रिजमा हिंडेको भिडियो फुटेज समेत भेटिएको अनुसन्धानका क्रममा भेटिएको थियो ।
मृत शरीर मार्च ९ तारिखमा नै अधिकारीहरुले भेटे पनि अप्रिल २५ तारिखसम्म पहिचान खुलेको थिएन । अप्रिल २५ तारिखका दिन न्युयोर्क प्रहरीले न्युजर्सीस्थित मोरिस काउन्टी अभियोजक कार्यालयलाई खबर गरेको थियो । मृत शरिरको एक्स -रे अनुसन्धानको आधारमा न्युयोर्कस्थित चिफ मेडिकल एक्जामिनरले अजय शाहको पहिचान गरेको समेत अभियोजकको कार्यालयले जनाएको छ । आज सोमबार मोरिस काउन्टी अभियोजक कार्यालयले सार्वजनिक नगरेसम्म शाहको अवस्था अज्ञात थियो ।
समाचार श्रोत : प्याच डट कम