फिचर

उपत्यका बाहिर रहेका पर्यटक सहजै काठमाडौं आउन सक्ने

काठमाडौं । काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका विदेशी पर्यटक निर्वाध काठमाडौं आउन सक्ने व्यवस्था मिलाइएको छ । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै पर्यटकलाई काठमाडौं आउन सहजीकरण गर्न निर्देशन दिएको हो । कोरोना महामारी नियन्त्रण गर्न नेपालका धेरैजसो जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

यसले पर्यटकको समेत आवागमन प्रभावित भएको छ । यात्रामा लागेको प्रतिवन्धका कारण विदेशी पर्यटक काठमाडौं र्फकन कठिनाई आएको गुनासो आएपछि गृह मन्त्रालयले विदेशी पर्यटकको आवागमन सहज बनाउन मातहतका निकायलाई अनुरोध गरेको हो ।


पर्यटकको पासपोर्ट र भिसा हेरेर उनीहरुलाई काठमाडौं पठाइने भएको छ । सम्बन्धित मुलुक र्फकने पर्यटकलाई हवाई टिकटका आधारमा समेत पठाइने भएको छ ।

उनीहरुलाई नियमानुसार काठमाडौंमा होटेल क्वारेन्टिनमा बस्ने गरि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयलाई गृहले निर्देशन दिएको छ । नेपालमा अप्रिल महिनामा मात्र साढे २२ हजार पर्यटक नेपाल आएका छन् ।