स्वास्थ्य

५६ जिल्लामा निषेधाज्ञा, ४१ जिल्ला ठप्प

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न अहिलेसम्म ५६ जिल्लामा विभिन्न प्रकारको प्रतिवन्ध लागेको छ । त्यसमध्ये ४१ जिल्लामा पूर्णै निषेधाज्ञा घोषणा भएको गृह मन्त्रालयले जनाएको छ । नेपालमा वैशाख ७ बाट जिल्लास्तरमा निषेधाज्ञा शुरु भएको हो । उपत्यकाका १६ वैशाखबाट शुरु भएको हो ।

अहिले निषेधाज्ञा ५६ जिल्लामा पुगेको र ४१ जिल्लामा पूर्ण निषेधाज्ञा रहेको छ । गृह मन्त्रालयका अनुसार दोलखामा जिल्ला भर र इलाम, धनकुटा र सिन्धुपाल्चोकमा केही ठाउँमा निषेधाज्ञा आदेश भएको छ । म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, र नवलपरासी पश्चिममा समेत निषेधाज्ञा थप भएको छ ।

तनहुँ र म्याग्दीमा आंशिक निषेध गरिएको छ । नवलपरासी पश्चिममा बुधबारदेखि आदेश लागू भइसकेको छ । म्याग्दी, मुगु र तनहुँमा बुधबार राति १२ बजेदेखि लागू भएको छ। बारा र सिरहामा बिहीबार बिहान ६ बजेदेखि लागू भएको छ। यसअघि सरकारले शहरी भेगमा ५ सय र पहाडमा २ सय संक्रमित नाघेमा निषेधाज्ञा गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो ।

सोही अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन् । देशभर बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ र गुल्मीमा पूर्ण निषेधाज्ञा छ ।

प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र बैतडी, नुवाकोट, धनुषा, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, दैलेख, अर्घाखाँची र रोल्पामा पनि प्रतिवन्ध रहेको छ । बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, तनहुँ र म्याग्दी आंशिक निषेधाज्ञा रहेको गृहले जनाएको छ ।