समाचार

प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी: महामारीमा ध्यान दिनुस

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले महामारीको समयमा यसको नियन्त्रण र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्ने तयारी गरिएसँगै शनिबार बिहानै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका हुन् । उनले अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने भन्दै अहिले मुलुकको ध्यान कोरोना नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्ने बताए ।

आज सामाजिक संजालबाट आफ्नो धारणा राख्दै नेपालले बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताए । उनले लेखेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्छु ।’