समाचार

आज संवैधानिक परिषद् बैठक, विपक्षी दलका नेता देउवा र सभामुख नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक डाकेका छन् । तर, उनले बोलाएको बैठकमा सभामुख अग्नी सापकोटा तथा विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् । बैठकले विभिन्न संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्ति गर्नेछ ।

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ। सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएर तीन सदस्य मात्र भए पनि बैठक बस्न सक्ने व्यवस्था गरिएको छ ।

सरकारको यो बल मिच्याइको भने विपक्षी दलहरुले विरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा ओलीसहित राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मात्र सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाल्दै संवैधानिक परिषदको बैठक बोलाएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा सहभागी नहुन आह्वान गरेका थिए ।