समाचार

ताउ ते चक्रवातको प्रभाव रहुन्जेल पर्वतारोहण नगर्न सरकारको आह्वान

काठमाडौं । अरब सागरमा उत्पन्न भएको ताउ ते नामक चक्रवातका कारण भारतको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । भारतका दक्षिणी राज्यहरु बढी प्रभावित बनेका छन् । यसले नेपालमा समेत मौसम प्रतिकुल बनेको छ । सोहीकारण सगरमाथासहित विभिन्न हिमालमा समेत जोखिम बढेको छ ।

सरकारले मौसम बिग्रिएको यो अवधिमा पर्वतारोहण गतिविधि स्थगित गरि सुरक्षित रहन आह्वान गरेको छ । पर्यटन विभागकी निर्देशक मीरा आचार्यले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिशन एजेन्सीलाई सामाजिक संजालमार्फत अनुरोध गरेकी छिन् । मौसम २० तारिखपछि भने सफा हुने अनुमान छ । त्यसपछि एकै पटक धेरै आरोही सगरमाथा चुचुरोतर्फ लाग्ने छन् ।

अहिले २ सय भन्दा बढी आरोही सगरमाथाको क्याम्प टूमा रहेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना छ । आज नेपालमा देशभर मौसम बद्ली हुनेछ ।

अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्‍चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा गराउने प्रणाली सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । बुधबार बेलुकादेखि शुक्रवारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।