रोचक खवर

उत्तर कोरियामा विदेशी चलचित्र, लुगा र भाषाको प्रयोगमा प्रतिवन्ध, बिक्रि गरे मृत्युदण्ड

Photo: AFP/EAST NEWS

सोल । उत्तर कोरियामा विदेशी भाषा, चलचित्र लुगाको प्रयोगमा कडा प्रतिवन्ध लागेको छ । मुलुक भित्र विदेशी संस्कृतिको प्रभाव कम गर्न भन्दै विदेशी चलचित्र वा लुगा वा विदेशी भाषाका तुक्का बोल्नेलाई कडा सजाय भएको कानुनहरू लागु गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाका नेता किम जोन उनले थप कडा कानुन लागु गरेका हुन् ।

अब दक्षिण कोरिया, अमेरिका वा जापानका चलचित्रको ठूलो सङ्ख्यासहित पक्राउ परेकाहरूलाई मृत्युदण्ड दिइने भएको छ। हेर्नेलाई १५ वर्षको जेल शिविर तोकिएको छ। उनले विदेशी भाषा, कपाल काट्ने तरिका र लुगा समेत रोक्ने घोषणा उनले गरेका छन् ।

उत्तर कोरियाभित्र स्रोत भएको सोलको अनलाइन पत्रिका डेली एनकेको समाचार अनुसार हालै तीन युवालाई पप गायकको जस्तो कपाल काटेको र पाइन्ट कुर्कुच्चोमाथि हुने गरी लगाएको आरोपमा पुनः शिक्षा शिविरमा पठाइएको छ । उत्तर कोरियामा लाखौँ मानिसहरूलाई दुई छाक राम्ररी खान नपुग्ने बीबीसीले लेखेको छ ।

गत वर्ष कोभिड महामारीका कारण सीमा बन्द गरिएपछि उत्तर कोरिया पहिलेभन्दा बाहिरी विश्वबाट छुट्टिएको छ। छिमेकी चीनबाट हुने अत्यावश्यक वस्तुहरूको आपूर्ति समेत घटेको छ। त्यहाँ हतियार कार्यक्रममा धेरै पैसा खर्च गर्ने शासकको चाहनाले अर्थतन्त्र असफल हुँदै गएको छ। अन्य देशको संस्कृति भित्रिएमा देशमा विद्रोहको सोच आउन सक्ने त्यहाँको शासकको निष्कर्ष छ ।