विश्व

क्यानडामा मुस्लिम परिवारमाथि नियोजित रुपमा चलाईयो ट्रक, चार जनाको हत्या

घटनास्थलमा मृतकका आफन्त परिवारलाई श्रद्धान्जली दिँदै Credit: Reuters photo

काठमाडौं\एजेन्सी । क्यानडामा एक मुस्लिम समुदायका परिवारमाथि नियोजित रुपमा ट्रकले आक्रमण गरिएको छ । घटनामा चार जनाको मृत्यु भएको छ । घटना आइतबारको हो । बीबीसीका अनुसार क्यानडा पुलिसले यसको पुष्टी समेत गरेको छ । क्यानडाको ओटारियो प्रान्तको सिटी अफ लन्डन भन्ने स्थानमा भएको हो । यस घटनामा परिवारका एक ९ वर्षिय बालक मात्र बच्न सफल भएका छन् । यद्दपी उनी गम्भीर घाइते छन् । उनको अस्पतालमा उपचार जारी छ ।

प्रहरीले २० वर्षका एक व्यक्तिलाई सुनियोजित रुपमा ट्रक हमला गरि ज्यान लिएको अभियोगमा पक्राउ गरेको छ । उनी क्यानडाकै नागरिक हुन् । क्यूबेक सिटी मस्जिदमा सन् २०१७ मा भएको आक्रमणपछि यो मुसलमान समुदायमाथि नियोजित रुपमा भएको दोस्रो घातक आक्रमण मानिएको छ । सो समय ६ जनाको मृत्यु भएको थियो ।

सोमवार डिटेक्टिव सुप्रिटेन्डेन्ट पाल वेटले पत्रकार सम्मेलनमा बताए अनुसार यो परिवार मुसलमान भएकै कारण आक्रमण भएको बताएका हुन् । उनका अनुसार यस प्रकृतिका घटना न्यूनिकरण गर्न प्रहरीले कडा कानुन ल्याउने तयारी गरेको छ । घटनामा ७४, ४४ र १५ वर्षका महिला र ४६ वर्षका पुरुषको ज्यान गएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । यो घटना फुटपाथमा हिडिरहेका माथि नियोजित ट्रक चलाएर गराइएको हो ।