विज्ञान प्रविधि

शनिबारबाट मनसुन सक्रिय हुँदै, यो वर्ष धेरै वर्षा हुने सम्भावना

काठमाडौं । नेपालमा शुक्रबार साँझ वा शनिबारबाट मनसुन सक्रिय हुने भएको छ । मौसमविद्ले यो वर्ष औसतमा बढी पानी पर्ने चेतावनी यसअघि नै दिएका छन् । पश्चिमी वायु, पूर्वी वायु र स्थानीय वायुको समेत प्रभावका कारण बिहीबारबाटै वर्षा भने हुने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसोपख धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

मनसुनी प्रणाली नेपाल नजिकै आइसकेको छ । यसले भोलि बेलुकीपख वा पर्सिसम्म मनसुन भित्रने छ । यो वर्ष बाढी, पहिरोलगायत मनसुनजन्य विपदबाट मात्र १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान सरकारी निकायको छ । गएको वर्ष औसत बराबर पानी पर्दा समेत ठूलो मानवीय क्षति भएको थियो । त्यसको तुलनामा यो वर्ष अझै ठूलो पानी पर्दैछ । बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान छ ।