समाचार

प्रधानमन्त्रीविरुद्ध कांग्रेस प्रदेश सांसद नरोत्तम वैद्यको आपत्तिजनक अभिव्यक्ति, फिर्ता लिन पार्टीको निर्देशन

काठमाडौं । वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएसँगै व्यापक आलोचना शुरु भएको छ । उनले मुलुकमा केपी शर्मा ओलीको मनोमानी बढी भएको भन्दै नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको आपत्तीजनक अभिव्यक्ति दिएका छन् । गोड्से महात्मा गान्धीको हत्या गर्ने व्यक्ति हुन् ।

वैद्यले नेपालमा त्यस्तो व्यक्ति चाहिएको र नभए आफै त्यसका लागि तयार रहेको आपत्तिजनक शब्द बोलेका छन् । शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले यस्तो बोलेका हुन् ।

वैद्यले भने, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’

वैद्यको अभिव्यक्तिबारे सामाजिक सञ्जालमा व्यापक आलोचना भएसँगै उनलाई पार्टीले अभिव्यक्ति आत्मआलोचनासहित सच्याउन निर्देशन दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयम गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’ उनी काठमाडौं क्षेत्र नं ४ (क) बाट बाग्मती प्रदेशसभामा काँग्रेसबाट निर्वाचित सांसद हुन् ।