फिचर

गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप उपलब्ध गराउन जी-सेभेन राष्ट्र सहमत

Photo Source : Brendan Smilawoski/AFP

लण्डन । धनी राष्ट्रहरू गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउन सहमत भएका छन् । यससँगै विश्वभर कम आयस्रोत भएका मुलुकका ५० करोड मानिसले यस्तो खोप प्राप्त गर्नेछन् । धनी राष्ट्रहरुको समूह जी-सेभेनको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताएको बीबीसीले लेखेको छ ।

ती खोप सीधै वा कोभ्याक्स सुविधामार्फत् दिन सकिने छ । उक्त परिमाणमा बेलायतले दिने भनेको १० करोड मात्रा पनि समावेश छ । ‘विश्वलाई खोप लगाउने यो अर्को महत्त्वपूर्ण कदम हो,’ जोनसनले भनेका छन् ।

उनले अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै यसलाई विश्वकै सबैभन्दा लोकप्रिय खोपको संज्ञा समेत दिएका छन् । बीबीसीका अनुसार लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको उनको भनाई छ । उनले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको जानकारी समेत गराएका छन् ।