फिचर

नेप्लिज-अमेरिकन च्याम्बर अफ कमर्शद्वारा कोभिड राहतमा ९० हजार डलर बराबर सहयोग

टेक्सास । अमेरिकास्थित नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्शले नेपालको कोभिड राहतमा झण्डै ९० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान गरेको छ । यसमा ५० हजार नगद र ४० हजार डलर मूल्य बराबरका ५ वटा भेन्टिलेटर छन्।

नेपालका विभिन्न अस्पतालहरुमा आवश्यक सहयोगका लागी नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्शले शनिबार महाबीर पुन प्रमुख रहेको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई २० हजार अमेरिकी डलर नगद र करिब ४० हजार अमेरिकी डलर मूल्य पर्ने ५ भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

सो अवसरमा च्याम्बर र आविष्कार केन्द्रबीच एक सम्झौता पत्रमा समेत हस्ताक्षर भएको छ । च्याम्बरका सभापति बाल जोशी र आविष्कार केन्द्रका प्रमुख पुनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । नेपालमा कोभिड महामारीको दोस्रो लहर सुरु भए पछि नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्शले अमेरिकामा सहयोग संकलन अभियान सुरु गरेको थियो।

सहयोग संकलन अभियानका संयोजक सुरेस पोख्रेलका अनुसार च्याम्बरले मुख्यरुपमा नेपालमा झापाको बिर्तामोड, मेची अञ्चल अस्पताल, बाराको कलैया अस्पताल, गुल्मीको धुर्कोट स्वास्थ्य केन्द्र, बाँकेको भेरी अञ्चल अस्पताल, कैलालीको टिकापुर अस्पताल, सुर्खेतको पंचपुरी नगरपालिका तथा सालकोट स्वास्थ्य केन्द्र र अछाम जिल्लाका विभिन्न गाउपालिका स्थित स्वास्थ्य केन्द्रहरुमा सहयोग गरेको छ।

यसै गरि बाँकेको नेपालगन्ज नगरपालिकामा निर्माणाधीन ‘आइसोलेशन सेन्टर’ का लागी च्याम्बरले नेपाली समाज टेक्सासको सहयोगमा १० लाख नेपाली रुपैयाको सहयोग गरेको संयोजक पोख्रेलले जानकारी दिए ।

च्याम्बरले नेपाल स्थित बागेश्वरी असल शासन क्लब र भेरी अञ्चल अस्पतालसँगको समन्वयमा र टेक्सास नेपाली मेडिकल एसोसिएसनको सहयोगमा भेरी अञ्चल अस्पतालका कोभिड बिरामी र उनीहरूका परिवारलाई सहयोग गर्न एक सहायता कक्षको समेत स्थापना गरेको छ।

च्याम्बरले सुरु गरेको कोभिड राहतमा अमेरिका स्थित नेपाली र अन्य समुदायलगायत नेपाली समाज टेक्सास, टेक्सास नेपाली मेडिकल एसोसिएसन, एभन्ट फाउन्डेशन, पुण्य फाउन्डेशनलगायत संस्थाले आर्थिक सहयोग गरेका थिए । संस्था स्थापनाको छोटो अबधि भित्रै विभिन्न परिमाणमुखी काम गरेर समुदायमा आफ्नो परिचय र औचित्य स्थापना गर्न सफल रहेको यो संस्था अमेरिकामा सक्रिय छ ।

नेपाली ब्यबसायीहरुको संस्था नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्शको अनुरोध स्वीकार गरि नेपालको कोभिड राहतका लागी सहयोग गर्ने सबै संघसंस्था तथा समस्त समुदायप्रति संस्थाकी कोषाध्यक्ष स्मृती कार्कीले कृतज्ञता व्यक्त गरेकी छिन् ।