डायस्पोरा

मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिने अवधि थप

बायाँबाट क्रमशः मनिता, सदीक्षा, शृंखला Photo : angelopedia.com

न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिकामा प्रतिस्पर्धा गर्न इच्छुकका लागि आवेदन दिने अवधि १० दिन थपिएको छ । कोरोना महामारीको कारण धेरै प्रतिस्पर्धीहरुले समय थप्न माग गरेपछी आवेदन दिने अवधि बढाएर जुन २५ सम्म पुर्‍याइएको आयोजकले बताएको छ ।

विश्वकै आर्थिक राजधानी मानिने न्यूयोर्कमा आयोजना हुन लागेको मिस नेपाल नर्थ अमेरिकामा पूर्व मिस नेपालहरु शृंखला खतिवडा, सदीक्षा श्रेष्ठ, तथा मनिता देवकोटासमेत सहभागि हुँदैछन् । मिस नेपाल नर्थ अमेरिका आयोजक टिमका अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोरको रुपमा नियुक्त गरिएको छ ।

पूर्वनेपाल सुन्दरी तथा पूर्वमिस नेपाल वर्ल्ड सदीक्षा श्रेष्ठले अफिसियल कोरियोग्राफरको जिम्मेवार पाएकी छिन् । त्यसैगरी पूर्व मिस नेपाल तथा मिस नेपाल युनिभर्स मनिता देवकोटाले प्रशिक्षक तथा प्रतियोगीलाई तालिम उपलब्ध गराउने भएकी छिन् ।

आगामी अगस्ट ७ तारीखमा न्युयोर्क शहरमा ग्रान्ड फिनाले तय गरिएको मिस नेपाल नर्थ अमेरिकाको लागि प्रतिस्पर्धीले जुन २५ सम्म आवेदन दिन सक्नेछन् । नेपाल पर्यटन बोर्डले २०२१\२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनित गर्ने भएको छ ।

भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने मुल नारा सहित सुन्दरी प्रतियोगिता आयोजना गरिएको आयोजक मध्येका एक सैलेश श्रेष्ठले बताए । मिस नेपाल नर्थ अमेरिका संयुक्त राज्य अमेरिकामा लगातार ३ बर्षदेखि आयोजना हुँदै आएको छ ।