विश्व

कोपा अमेरिका : अर्जेन्टिना र चिलीले अंक बाँडे

काठमाडौं । दक्षिण अमेरिकी दुई चिरपरिचित प्रतिद्धन्द्धी अर्जेन्टिना र चिली बीचको खेल पुनः बराबरीमा सकिएको छ । कोपा अमेरिका फुटबलमा सोमबार राती सम्पन्न खेल बराबरीमा पुरा भएको हो । एक गोलको अग्रता जोगाउन नससकेको अर्जेन्टिनाले अंक बाँडेको छ । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिए ।

अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि भने दुबै टोलीले गोल गर्न सकेनन् । प्रतियोगिता अन्तर्गत आज बिहान भएको अर्को खेलमा पाराग्वेले बोलिभियालाई ३-१ गोलले हरायो । पाराग्वेका लागि रोमेरोले ह्याट्रिक गरेका छन् । उनले ६१, ६४ र ७९ औं मिनेटमा गोल गरेका हुन् । बोलिभिया भने ४५ मिनेटपछि १० खेलाडीमा सिमित भएको थियो ।