समाचार

बाढीमा हराइरहेका मेलम्ची खानेपानी आयोजनाका ८ मजदुर अझै भेटिएनन्

Photo source : Nimesh Regmi\Setopati

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेका ८ जना मजदुर वेपत्ता छन् । मंगलबार साँझबाट आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र प्रभावित भएको छ । यो विपत्तीमा करीव दुई दर्जन मानिस हराइरहेको आंशका छ । यसमा मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ८ जना मजदुर रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका अनुसार आयोजनामा काम गर्ने ३ चिनियाँ, ३ भारतीय र २ नेपाली कामदार सम्पर्कविहीन छन् ।

आयोजनाका ७६ जनालाई भने बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । उद्धार गरेका सबैको स्वास्थ्य अवस्था सामान्य छ । उद्धार पछि मजदुरहरुलाई काठमाडौं र धुलिखेल ल्याइएको छ। सम्पर्कमा आउन बाँकी रहेका कामदारहरूको खोजी भइरहेको छ ।

आयोजनाको हेडवर्क्स नजिकैको क्याम्पसाइट बाढीले बगाएपछि मंगलबार रातिदेखि नै प्रहरी, प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरु खोजीमा जुटेका हुन् । बाढीले आयोजनाका क्याम्पहरू, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुल भने बगाएर क्षति पुर्याएको छ ।