फिचर

चीनबाट ४० लाख डोज खोप किन्ने सरकारको तयारी

Reuters

काठमाडौं । सरकारले चीनबाट तत्काल ४० लाख डोज खोप खरीद गरि ल्याउने तयारी शुरु गरेको छ । बुधबार बसेको कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रक्रिया तत्काल शुरु गरि साउनदेखि खोप लगाउन शुरु गर्ने तयारी सरकारको छ । यसअघि भारतबाट खरीद गरिएको खोप नआएका कारण १४ लाख भन्दा बढी जेष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।

भारत आफै कोरोनाको चपेटामा परेपछि खोप ल्याउने काम प्रभावित भएको हो । चीनबाट भने अनुदानमा १८ लाख डोज खोप आइसकेको छ । अब ४० लाख खोप तत्काल ल्याएर जोखिमपूर्ण र प्राथमिकतामा रहेका नागरिकलाई लगाउने तयारी सरकारले गरेको हो । खोप ल्याउन असफल भएको भन्दै सरकारको व्यापक आलोचना भइरहेको छ ।

यसबीचका सबै प्रयास असफल भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुसमै तीन महिना भित्रै सबै नागरिकलाई खोप लगाउने घोषणा गरेका थिए । तर, त्यस अनुसार काम भएन । जसले गर्दा कोरोना भाइरसको दोस्रो लहरमा बढी मानिसले ज्यान गुमाउनु परेको छ ।