खेलकुद

इटली यूरोकपको नकआउट चरण प्रवेश

काठमाडौं । इटली यूरोकप २०२० को नकआउट चरण प्रवेश गर्ने पहिलो मुलुक बनेको छ । गत राती सम्पन्न खेलमा स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरण प्रवेश गरेको हो । समूह चरणको दोस्रो खेलमा इटलीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा स्विजरल्यान्डलाई ३–० गोलले हरायो । इटलीका लागि म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले एक गोल गरे । इटलीले यूरोपक छनोटको एउटा पनि खेल हारेको थिएन । योसँगै इटली लगातार १० खेलमा अपराजित समेत रहन सफल भएको छ ।

उता, यो समुहमा रहेको वेल्सले युरोकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । गएराति नै सम्पन्न खेलमा वेल्स टर्कीविरुद्ध २–० गोलले विजयी भयो । वेल्सका आरोन राम्से र कोनर रोबट्र्सले एक, एक गोल गरे । जितसँगै वेल्सले दुई खेलमा चार अङ्क जोडेको छ । वेल्सको नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहेको छ ।