बिचार

स्वधर्म, सत्कर्म र ब्रम्हज्ञान

अच्युत सिग्देल, न्युयोर्क

ब्राम्हणको कुलमा जन्मदैमा ब्राम्हण हुदैन। गुरू द्रोणाचार्यको गुरूकुलमा कौरव, पाण्डवसँगै उनका सुपुत्र अस्वत्थामा पनि शिक्षा लिन्थे। बिशिष्ट शिष्य बिध्यावारिधि वा एक्सीलेन्सी भने अर्जुनले मात्र पाए।

एकदिन धनुर्विद्याको परिक्षा थियो। सबैलाई धनुषवाण बोकाएर गुरू द्रोणाचार्यले एकान्त जंगल भित्रको ठूलो पीपलको रूख भए ठाउँतिर लिएर गए । रूखमा निशानाको लागी चराहरू बनाईएको थियो। द्रोणाचार्यले आफ्ना शिष्यहरूलाई सम्झाए; “तिमीहरूलाई एक एक वाण दिईनेछ। चराको आखॉमा तारो हानेर चरा खसाल्नु पर्नेछ। ल लाईनबद्द भएर धनुषबॉण सिधा गर“ । सबैले आ-आफ्नो धनुषवाण लिएर पोजिसन तयार गरे। गुरूले एक एक गर्दै सबैलाई सोधे; “तिमीहरूले के देख्यौ” ?

पालैपालो सबैले जवाफ थिए। युधिष्ठिरले भने – ‘मैले चरा र पीपलको बोट देखें’। दुर्योधनले कड्कदै भनें – ‘दाजु ! यस्तो जँगलमा एउटा रूख र चरामात्र देख्नुभयो ? यहॉ हेर्नुस् धेरै रूखहरूको बीचमा एउटा ठूलो पीपलको बिशाल बृक्ष छ। त्यसको धेरै हॉगामा चराहरू छन्। छिटो आज्ञा पाउँ गुरूदेव, म एकै पटकमा खसाली दिन्छु’। प्राय: सबैको उत्तर एउटै थियो। अन्तिममा द्रोणाचार्यले अर्जुनलाई सोध्नुभयो; “अर्जुन तिमीले के देख्यौ” ? अर्जुनले उत्तर दिए । “गुरुदेव मैले त चराको ऑखा मात्र देखें”। द्रोणाचार्यले पुन: प्रश्न गर्नुभयो; “अर्जुन भन चराको रंग कस्तो छ?” अर्जुनले भनें “गुरूदेव मैले चराको रंग देखेको छैन”।

गरू द्रोणाचार्यले सबैलाई रोक्दै भन्नुभयो; “हेर शिष्यहरू तिमीहरू सबै निपुर्ण छौ। मलाई थाहा छ, तिमीहरू सबैले चरा खसाल्न सक्छौ। मात्र फरक यो हो कि- अर्जुन आफ्नो कामप्रति पुरा लगाव राख्छन । मन केन्द्रित छ । उनी सर्वश्रेष्ठ शिष्य हुन। यो परि़क्षा बौद्धिकताको थियो । उनी अव्वल प्रमाणीत भए”।

दुर्योधन मुर्मुरिए, क्रोधित बने। अश्वस्थामालाई जलन भयो। उनले बाबुलाई भनें; “बुबा म हजुरको आफ्नै छोरा र पूर्णकालिक शिष्य। अव्वल शिष्यको पदवि मैले पाउनु पर्छ । यो मेरो हक़ हो”। द्रोणाचार्यले जवाफ दिए; “शिक्षा, राजनीति र व्यापारमा जो सर्वज्ञान सम्पन्न छ। दक्षता प्रमाणीत हुन्छ । उ नै सही हकदार हुन्छ। बाउ छोराको नातामा अवस्य अर्जुन भन्दा तिमी मसँग नजिक छौ तर दिक्षामा उ नै सबैभन्दा दक्ष हो । त्यसैले मैले सबै युद्द यन्त्रहरूको शिक्षा, दिक्षा अर्जुनलाई दिनु पर्छ”।

वर्तमान समयमा सम्पूर्ण आणविक हतियारको रिमोट अमेरिकाले आफ्नो नियन्त्रणमा राखे जस्तै द्रोणाचार्यले सम्पुर्ण हतियारको कौंशल अर्जुनलाई दिए । जसरी द्रोणाचार्यले एक असल गुरूको सही धर्म निवारण गरे त्यसै धृतराष्ट्रले कुल धर्म निभाई दिएको भए महाभारत हुने थिएन।
संसारका सबै बतण्डहरु स्वधर्म र मर्यादा कायम नराख्दा भएका छन् । जर्मनीले मानवीय धर्म निभाएको भए न त विश्व युद्द हुन्थे । गलतलाई रोक्न सकेको भए न त गणेशमान बिवादित हुनुहुन्थ्यो नत कृष्ण प्रसादमाथि अन्तरघात हुन्थ्यो। समाजका असंगतिहरु गलतलाई नजरअन्दाज गर्दा भएका छन् ।

केपी ओलीका छोराहरू अस्वत्थामा बनेर द्रोणाचार्यलाई परिवन्दमा पारेको देख्दा होस् वा पौत्र – पुत्री प्रेममा धृतराष्ट्र बनेका प्रचण्डलाई हेर्दा होस। जो सुकै कुलमा जन्मेपनि ब्रह्मज्ञान बिनाको खोटी दिमागलाई ब्राम्हण पद दिए मृतात्माले मन, बचन र कर्मलाई अपवित्र बनाई नै रहने छ। देश अस्थिरता तर्फ गईरहने छ।

तसर्थ; जो जुन काममा निपुर्ण छ उसलाई त्यो काम दिऔ। महावीर पुन आविष्कारको ब्राम्मण हुन। उनको ब्रह्म मन मस्तिष्कमा आविष्कार छ। उनी आविस्कार र प्रयोगका ब्रम्हज्ञानि हुन । डा केसी मानव सेवाका ब्राम्हण हुन। सन्दुक ऑखा उपचारका ब्राम्हण हुन। भगवान कोईराला मुटू रोगका ब्राम्हण हुन। के उनीहरूको सन्तानले सोही पेशामा ब्रम्हज्ञान पाउने छन् ? अवस्य छैनन्। यसकारण कुनै पनि ब्राम्हण पुत्र मात्रै ब्राम्हण हुदैनन् ।
तथास्तु !