बिचार

माँ हार्दिक श्रद्धाञ्जली !

प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’
कीर्तिपुर

आमाले अन्तिम पटक पृथ्वीलाई उज्यालो छरेर निभ्दा, झमक्क साँझ भइसकेको थियो । आमालाई दागवत्ति दिएर पशुपतिबाट कीर्तिपुर फर्केको यात्रा मेरो लागि निकै कष्टकर थियो । म त्यो संसारमा एक्लै बाँच्न फर्किरहेको थिएँ, जुन संसारमा म आमासँग साढे तीन दशक भन्दा बढी सँगसँगै बाँचिरहेको थिएँ । यात्राभरी जिन्दगीले चुनौति गर्यो, अब के तँ एक्लै बाँच्न सक्छस् ? जिन्दगीको चुनौतिलाई सामना गर्ने ल्याकत नभएर होला, रत्नपार्कमा पुग्दा, अँध्यारोमै वान वेतिर छिरेछु । आर्यघाटले दया गरी फर्काएको मलाई, ट्राफिकहरुले पनि सप्रेम जिन्दगीको दिशामा फर्काइदियो । आमा बिनाको पहिलो पाइला नै मेरो गलत बाटोमा परेको थियो । यसरी पटक पटक बाटो बिराएको त्यो साँझ आमालाई खुब सम्झेँ ।
आमालाई दागबत्ती दिएर घर आएपछि, मभित्र आएको पहिलो चिन्तन थियो । यो कस्तो संस्कार हो, जन्म दिएकै आमालाई जलाउनु पर्ने, पोल्नुपर्ने, खरानी गर्नुपर्ने । संसारको सबैभन्दा प्रिय ब्यक्तिलाई आफ्नै हातले नष्ट गर्नुपर्ने । पोलिसके पछि अन्त्यमा, एक अँजुली खरानी हात पर्ने, त्यो पनि खोलाको लहरलाई ‘लैजा’ भनेर सुम्पेर रित्तिनु पर्ने । फकिर जस्तो आफ्नै हत्केलालाई हेरेर खुब रोएँ । त्यो सुन्य सुन्य हत्केला एकक्षणको लागि विश्वबिद्यालय भयो र जीवनको पाठ मज्जैले पढाइ दियो ।
आमाको मृत्युपछि पहिलो पटक आमाको कोठामा प्रवेश गरेँ । आमाको ओछ्यान सुन्य थियो । सिरक भित्तातिर आमा जस्तै गुटमुटिएर पल्टिरहेको थियो । भित्तामा झुण्ड्याएको आमाको तस्विर मलाई हेर्दै निकै रोएको आभास भयो । मैले पनि तस्विरको बुँदसँगै आफ्ना बुँदहरु मिसाइदिए । बाहिर आकास पनि दर्किरहेको थियो । यो झरीको त्रिवेणीमा म निकै भिजेको थिएँ । आमालाई सम्झिरहेँ, सम्झिरहेँ । सम्झेँ, यस्तै जेठको झरी परेको साँझ एक रेडियोमा दिएको साहित्यिक अन्तर्वार्ता, जस्मा मलाई एउटा प्रश्न सोधिएको थियो, आमा के हो ? मैले जवाफ दिएको थिएँ – आमाको बारेमा ब्याख्या गर्नु पर्दा म मौन नै हुन्छु । मेरो मौनतालाई तपाईले जे बुझ्नुहुन्छ त्यही आमा हो । आमाको यो भन्दा सुन्दर ब्याख्या अरु छैन । यदि तपाईको ओठ दुधले नुहाएको छ भने तपाईले आमालाई देवीको रुपमा बुझ्नु हुनेछ भने तपाईको ओठ पानीले नुहाएको हो भने तपाईले आमालाई सामान्य नारीको रुपमा लिनु हुनेछ ।
अन्तर्वार्तामा सही नै भनेछु जस्तो लाग्यो, अपरिभाषित आमाका धेरै महानताहरु यही साँझमा भेटाएँ । आमाको धेरै याद आयो, यादसँगै आँखा रसाउँदै आयो ।
चौवालीस वर्षको उमेरमै आमा बिधवा हुनुभयो । जिम्मेवारीमा थियो, सात सन्तान । आधारको रुपमा रहेको थियो, एक काख । सबैभन्दा सानो भएकोले त्यो काख मैले नै ओगटेँ । आमाको छातिबाट सबै सन्तानको जीवन सुरुवात भए पनि अन्तिम पटक छातिको तातो मैले नै पाएकोले म आमाको अलि नजिकै थिएँ, आमाका अरु सन्तान भन्दा र अन्त्यसम्म पनि नजिक नै भएँ ।
बुबा बित्नु हुँदा, आमाको अवशेष जवानिलाई हेरेर एक काकाले भन्नु भएको थियो रे, मेरी बुहारी, बुहारी भएर बस्दैन ।
आमाले त्यो बेला खोइ कहाँबाट कुन शक्ति निकालेर, सबै इच्छा मार्नुभयो र एउटा बिशाल अँगालो फैलाएर सात सन्तानलाई बेरिदिनु भयो । त्यही बेला, आमाले बुबाको उन्नाचास उमेर पनि थपेर, त्रियानब्बे उमेरले परिपक्व हुनुभयो । श्रीमती बिना बाँच्नै नसक्ने श्रीमानहरुलाई देखाइदियो कि श्रीमान बिना पनि श्रीमतीहरु बाँच्न सक्छन् । आमाको लागि सन्तान नै सबथोक भयो ।
आमाको जीवन भन्ने हो भने संघर्ष नै संघर्षको एक चक्र थियो । सुन्दरजलको एउटा गाउँमा आमाको जन्म भयो । सानैदेखि डोको बोकेर जङ्गलमा घाँस दाउरा लिन जानु पर्थ्यो । कहिलेकाँही घाँससँगै डोकोमा हरियो सर्प पनि लुटपुटिन्थे । घाँस टिप्न जाँदा एकदिन एउटा उडन्ते सर्पले झण्डै मारेको कथा सुनाउनु हुन्थ्यो । डोकोले छोपेर बाँचेको तर एक बृद्धालाई टाउकैमा टोकेर मारेको घटना बारम्वार सुनाउनु हुन्थ्यो । भन्ने हो भने हामी आमाले सुनाउनु भएको यस्तै यस्तै कथामा हुर्कियौँ । यस्तै यस्तै संघर्षका किस्ता–किस्तामा, बीस वर्षको कलिलो उमेरमै आमाको बिहावारी भयो । कीर्तिपुरको एक गाउँमा । एक गाउँबाट अर्को गाउँमा सरेर आए पनि निधार त्यही बोकेर आउनु भएको थियो । हत्कोलाका रेखाहरु उहीँ थिए । डोको छुटे तर दुखको पोको छुटेन । सन्तानहरु थपिँदै गए । एक, दुई, तीन …..। सातौ सन्तान भएको केही वर्षमा पिताजीको निधन भयो । काजक्रिया गर्नको लागि आमासँग सुको पैसा थिएन । भएको गहना पनि बेचेर आमाले काजक्रिया गर्नुभयो । आमाको त्यो सेतो संसारलाई सम्झिँदा आज पनि आँखाबाट आँसु तर्किन्छ । त्यो दुखलाई हेरेर नै हामी सबै सन्तानले अठोट गरेका थियौँ, हामी सबै मिलेर भोली आमालाई सुख दिनुपर्छ ।
सबै सन्तान बडा भए । सबै आआफ्नो ठाउँमा चरित्रवान, शिक्षित र सफल भए । आमाको जीवनमा सुखको दिन पनि आयो । जे होस्, आमाको चार दिनमा, तीन दिन दुखमा बिते पनि बाँकी अन्तिम एक दिन हामीले हँसायौ नै जस्तो लाग्छ, यसैमा सन्तुष्टी जाग्छ । आमाको लागि जे किनेर दिए पनि हामीले काल किन्न सकिनौँ । आमा बिरामी हुनुभयो र सदाको लागि सतहत्तरको उमेरमा यो संसारबाट बिदा लिनुभयो । आमाले जीवनको पनि अनुभव दियो र मृत्युको पनि एक चाङ्ग अनुभव थमाएर गयो ।
आज आएर मलाई लाग्छ, मृत्यु संयोगहरुको श्रृखला हो । आमा हस्पिटलमा हुनुहुन्थ्यो । श्रीमती कुरुवामा थिइन् । एक सपना देखेँ आमा परेलीभरी आमा उमारेर मलाई हेरिरहनु भएको थियो । सेकेन्ड भन्दा कमको वा त्यो बराबरको त्यो हेराइले मेरो बिपना सारै भारी भयो । सायद त्यो बिदाइको आभास थियो वा अरु केही । मृत्युअगाडि यस्ता संयोगहरु जोडिएर आउँदो रहेछ । किलामा झुन्डिएको सेतो कमिज अरु दिन अनुशासनमै रहने, त्यो दिनमै भुइँमा खस्नु, दुधसँग भात मुछेर खानै लाग्दा आमाको मृत्युको खबर लिएर फोन बज्नु, पिताको नाम बुद्ध थियो र मेरी आमा बुद्धपूर्णिमाकै दिन अस्ताएको कुरा सुनायो भने सायद बिज्ञानले आश्चर्य मानेर जिब्रो टोक्नेछ । तर वास्तवमा भएको त्यही थियो ।
जिउँदा हुँदा, बिपनाभरि देखेको आमालाई अचेल म सपनामा खासै देख्दिनँ । सुत्नुअघि जति सम्झे पनि सपना खाली नै हुन्छ । जिउँदो हुञ्जेल अथाह प्रेम थियो । खोई, मृत्युपछि चटक्कै माया मार्नुभयो । यसरी बुझेँ, जीवनभरि सत्यमै बाँच्नु भएकी आमाले झुटो सपनामा आएर फटयाइँ गर्न चाहनु भएन । बिपनामा रोएर थाकेका आाँखाहरु सपनामा बिसौनी होस्, चौतारी नै होस् भन्ने शुभेक्षा राख्नु भयो ।
यो जिन्दगी आमाको पाठेघरबाट सुरु भएर, पाठेघरमै अन्त्य हुने भए कति जाति हुथ्यो । आमाको शरीरभित्रै कतै न कतै त समाधिस्थ हुन पाउँथ्यो । तर यो भौतिक संसारमा त एक मुठी खरानी पनि गुमाउनु पर्ने अवस्था छ । आखिर के रहेछ त यो संसारमा आफ्नो भन्नु ? न आमाको शरीर आफ्नो वशमा छ, न आफ्नो शरीर नै ।


म त्यो बेला धेरै दुखेँ, जव छोरीले आमाको पलङ्गमा पुगेर सिरक ओल्टाइ पल्टाइ हेरी । सिरक मौन थियो । अहिले यतिबेला आमाको तस्विर हेर्दैछु र यो स्वीकार्न अझै पनि गाह्रो छ कि आमा भौतिक रुपमा हुनुहुन्न । आमाको रितो कोठामा पाँच वर्षकी छोरीले बोलाउँदै जानु, खोज्नु, बिछयौना छाम्नु, सिरक पल्टाउनु यो भन्दा दुखदायी पीडा अरु के होला । आमाको मृत्यु भएको छ भनेर भन्न पनि नसकिने, तर आमा दुईचार दिनमा आउनु हुन्छ भनेर झुटो कुरा बोल्न पनि नसक्ने यो भन्दा ठूलो विडम्बना अर्को के हुन्छ ? आकासमा भगवानको एक अदृष्य छाप्रो छ भनेर हुन्छ कि पिलपिल धर्तितिर घोप्टिएर बस्ने ताराहरुलाई देखाएर हुन्छ, आमाको अस्तित्वको कुरा गर्छु । यसरी छोरीको आँसु पुछे पनि, आफैभित्र उम्लिने ‘अव आमा फर्केर आउनु हुन्न’को चेतना भने त्यो बेला निकै भारी लाग्छ । त्यो बेला छोरीको आँसु सुकाएर आफू रसाएँ कि जस्तो लाग्छ । जे होस्, आमालाई हार्दिक श्रद्धाञ्जली ! जहाँ रहनु, सुखी रहनु । भोली मेरो यात्रा पनि त्यहीँ हो । त्यो यात्रामा चालेको पहिलो पाइलामै हजुरसित भेट होस्, भगवानसित मेरो यही बिन्ति छ ।