फिचर

दैनिक नयाँ रेकर्ड बनाउँदै नेपाली सेयर बजार

काठमाडौं । यस साता सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । दिनभर तीव्र उतरचढाव देखिएको बजारमा होटल र फाइनान्स समूहको सेयरमा चमक आउँदा नेप्सले आज पनि नयाँ रेकर्ड बनाएको हो ।

आज नेप्सेले ३०९४ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०९० विन्दु माथि पुगेको पहिलो पटक हो । यसअघि मंगलबार नेप्सेले इतिहासकै सर्वाधिक ३०७९.६७ विन्दुको रेकर्ड बनाएको थियो ।

सूचकले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै २ अर्बले घटेर सवा १३ अर्बमा सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से १५.३० अंकले बढेर ३०९४.९४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ कम्पनीको १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ बराबरको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचक राताम्मे भएक छन् भने बाँकी ९ समूहको परिसूचकमा हरियाली छाएको छ । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ७.०९ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह १.४७ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २१९ कम्पनीमध्ये १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल हाइड्रो ३६ करोड र अरुण भ्याली हाइड्रोपावर ३३ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, नारायणी विकास बैंक र मल्टिप्रोज फाइनान्सको सेयरमूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यस्तै, सोल्टी होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतभन्दा धेरले बढेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको ७ प्रतिशतले बढेको छ । सेन्टर, बेस्ट, नेपाल फाइनान्स र कालिका माइक्रोफाइनान्सका सेयरधनीले ५ प्रतिशभन्दा धेरै कमाएका छन् ।

बढ्दो बजारमा आज पञ्चकन्यामाइ हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.०७ प्रतिशत गुमाएका छन् ।