विश्व

अष्ट्रेलियाको सिड्नीमा डेल्टा भेरियन्ट फैलियो, एक महिना थपियो लकडाउन

सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा कोरोनाको डेल्टा भेरियन्टको महामारी फैलिएको छ । कोभिड १९ को सङ्क्रमण बढ्दै जाँदा सिड्नीमा अर्को एक महिनाका लागि लकडाउन थपिएको बीबीसीले जनाएको छ । जून महिनाको अन्त्यबाट घरमा नै बस्न मानिसहरुलाई आदेश दिइएको छ। यस वर्षको खराब महामारीले सिड्नीमा २,५०० व्यक्तिलाई सङ्क्रमित बनाइसकेको तथ्यांक आएको छ ।

सिड्नीको राजधानी रहेको न्यू साउथ वेल्समा बुधवार १७७ जनामा सङ्क्रमण पुष्टि भएको छ। उक्त सङ्ख्या मार्च २०२० यताकै सर्वाधिक रहेको अधिकारीहरुले जनाएका छन् । न्यू साउथ वेल्सकी प्रिमिअर ग्ल्याडेस बेरजिक्लियनले यसअघि योजना गरिए जस्तै गरी शुक्रवारबाट लकडाउन अन्त्य गर्नु सिड्नीका लागि सम्भव नभएको बताएको समेत बीबीसीले लेखेको छ ।

अत्यावश्यक सामग्री खरिद गर्न भने १० किलोमिटरसम्म जान पाइने छ । भिक्टोरीया र साउथ अस्ट्रेलियामा भने बुधवारबाट लकडाउन अन्त्य भएको छ । सिड्नीमा ५० लाख जनसंख्या छ । विज्ञहरूले सिड्नीको निषेधाज्ञा सेप्टेम्बर वा त्योभन्दा पछिसम्म जारी रहन सक्ने चेतावनी दिएका छन्।

अधिकारीहरूले सङ्क्रमण दर शून्य नजिकै नभएसम्म सिड्नीलाई पुनः खुला गर्न नसकिने बताइरहेका छन्। मानिसहरुले लामो लकडाउनका कारण दैनिकी प्रभावित भएको भन्दै विरोधमा सिड्नी, मेलबर्न र अरू सहरहरूमा प्रदर्शन गरेका थिए। अष्ट्रेलियामा खोप अभियान समेत सुस्त भएपछि नागरिकमा आक्रोस बढेको हो ।