विज्ञान प्रविधि

जनताले खोप लगाउन उत्साह नदेखाएपछि अमेरिकी राष्ट्रपतिले गरे एक सय डलर दिने घोषणा

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले खोप लगाउने व्यक्तिलाई १ सय अमेरिकी डलर दिने घोषणा गरेका छन् । अमेरिकामा पछिल्लो दिनमो कोरोनाको सङ्क्रमण बढिरहेको छ । तर, जनताले खोप लगाउन मानेका छैनन् । संक्रमण खोप नलगाएका मानिसमा तिब्र रुपमा बढेको छ । खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेको बीबीसीले जनाएको छ ।

उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्। अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो। सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन्। बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ। आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन्।

बिहीवार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताएका छन् । उक्त भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको छ। खोप नलगाउँदा हुनसक्ने जोखिमबारे उनले मानिसहरूको मृत्यु भइरहेको र जसको निधन नहुनु पर्ने हो उनीहरूको पनि हुनसक्ने भन्दै चेतावनी ुसमेत दिएका छन् । बाइडनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताएका छन् ।