विश्व

अफगानिस्तानमा प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा तालिवान, लडाई जारी

काबुल । अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा रहेको तालिवान र सरकारी फौजबीच लडाई जारी छ । तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण लडाइँ भइरहेको बीबीसीले लेखेको छ । अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लश्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको समाचारमा जनाइएको छ ।

सो सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशनलाई कब्जा गरेको छ । ग्रमीण क्षेत्रबाट भागेका कैयौँ मानिसहरूले कतिपय भवनहरूमा शरण लिएको समाचार छ । विद्रोहीहरूसँग लड्न सयौँ थप अफगान सैनिकहरूलाई परिचालन गरिएको समेत जनाइएको छ । बीस वर्षपछि अमेरिकी सैनिकहरू त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानमा तालिबानले तीव्र रूपमा कैयौँ भूभाग कब्जा जमाइरहेको छ ।

यो प्रान्त अमेरिकी र ब्रिटिश सैन्य अभियानको केन्द्रविन्दु रहेको थियो । उक्त क्षेत्रलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो अफगान सरकारका लागि ठूलो झड्का हुनेछ। यदि लश्कर गाहलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो सन् २०१६ पछि तालिबानले नियन्त्रणमा लिएको पहिलो प्रान्तीय राजधानी हुनेछ। तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा गर्ने कोसिस गरिरहेको समेत जनाइएको छ ।