समाचार

अफगानिस्तानका रक्षामन्त्रीको निवासमा विद्रोहीको आक्रमण, कम्तिमा चार जनाको मृत्यु

GETTY IMAGES\BBC

काबुल । अफगानिस्तानमा रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गरेका छन् । बीबीसीका अनुसार यो आक्रमणमा परि कम्तीमा चार जनाको मृत्यु भएको छ । आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी भने घरबाहिर थिए । सोहीकारण उनी सकुसल रहेको समाचारमा उल्लेख छ । बन्दुकधारीहरूले मङ्गलवार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका थिए।

आक्रमणपछि उनीहरुले गोली पनि चलाएका थिए। आक्रमणपछि रक्षामन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको बीबीसीले लेखेको छ । उक्त हमलामा संलग्न आक्रमणकारीहरू पनि सुरक्षाकर्मीद्वारा मारिएका छन्। मुख्य अफगान सहरहरूमा तालिबान विद्रोही र सरकारी फौजबीच लडाइँ जारी रहेको तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ले तत्कालै हिंसा अन्त्य गर्न आह्वान गरेका बेला उक्त आक्रमण भएको हो।

इटलियन आकस्मिक चिकित्सा परोपकारी संस्थाले चाहिँ काबुलस्थित आफ्नो स्वास्थ्य सेवा निकायमा उक्त घटनामा मारिएका चारजनाको शवका साथ ११ जना घाइते पनि ल्याइएको बताएको छ। उक्त आक्रमणमा सहभागी चार बन्दुकधारी समेत मारिएको बताइएको छ। घटनापछी रक्षामन्त्रीले आत्तिनु पर्ने कुरा नभएको भन्दै सबै सामान्य भएको बताएका छन् ।