बिचार

समयले ल्याएको पठन पाठन विधिको विज्ञान

– डा. बद्री पोख्रेल
अध्यक्ष, जयतु संस्कृतम्, नेपाल

सिक्ने सिकाउने परम्परा अर्थात अध्ययन अध्यापन मानव सभ्यतासंग जोडिएको विषय हो । बालक जन्मेदेखि नै हरेक क्षण केही न केही सिकिरहेको हुन्छ भने हामी उसलाई केही न केही सिकाइरहेका हुन्छौं । सिक्ने विषय र सिकाउने प्रविधिमा भने धेरै उतार चढाव आएको पाइन्छ । पढेर कहिल्यै पनि सकिन्न भन्ने विश्वास वनिसकेको छ । तर पनि हामी सिक्न र सिकाउन तड्पिरहेका हुन्छौं । बालकहरू विहानैदेखि गरुङ्गा झोला वोकेर दौडिरहेका हुन्छन् भने अविभावक र शिक्षकहरू सकेसम्म नयाँ नयाँ विषय सिकाएर वच्चा र विद्यार्थीहरूलाई जान्ने वनाउन उत्सुक हुन्छौं ।
सिक्ने विषय के हो ? यो जिज्ञासा स्वयंमा अमूर्त र अस्पष्ट छ । सिकेर कुनै पनि विषयको टुङ्गोमा पुग्न सकिन्न भन्ने जगजाहेर हुदाहुँदै पनि शिक्षक र अभिविभावक धेरै सिकाउन व्यग्र देखिन्छन् भने विद्यार्थीहरू उनीहरुकै निर्देशन मानेर गरुङ्गा झोला बोकी ज्ञान–सागर तर्ने अन्तहीन यात्रामा जुटेका हुन्छन् । कसले कति सिकाउन सक्छ र कसले कति सिक्न सक्छ– को अस्वस्थ प्रतिस्पर्धामा सिङ्गो शिक्षा क्षेत्र उत्रने गरेको यथार्थ अहिलेको संसारको शिक्षण परिपाटीले देखाएको छ । तर अल्वर्ट आइन्टाइन जस्ता विश्व विख्यात शिक्षाविद् एवं वैज्ञानिक भन्छन् – म कहिल्यै पनि विद्यार्थीलाई सिकाउँदिन तर विद्यार्थीले सिक्ने वातावरण वनाइदिन सधैं प्रयास गर्छु ।
उपाधि र ज्ञान गुरुकेन्द्रीत कि विद्यालय केन्द्रीत स्कूल, कलेज, विश्वविद्यालय, प्रशिक्षण केन्द्रहरुले दिने उपाधि र ज्ञानार्जन नितान्त भिन्न विषय हुन् । तर हाम्रो समाजमा त्यसलाई एकाकार गर्ने ढंगबाट यी दुई भिन्न विषयलाई वुझिने गरेको छ । कुनै एउटा विद्यार्थी वा एउटै पुस्तकले पनि संसारमा नयाँ प्रणाली र गति दिनसक्ने भएकाले उपाधि र ज्ञानका विषयमा अस्पष्टता रहने गरेको वुझिन्छ । इतिहास अध्ययनगर्ने र केलाउने हो भने प्राच्य शिक्षा परम्परामा गुरु केन्द्रित प्रणाली प्रमुख भएको पाइन्छ । ब्रह्मचर्यमा रहेर गुरुको सान्निध्य वा गुरुकुलमा वसेका विद्यार्थीहरू गुरु केन्द्रित (टीचर सेन्टर्ड० अध्ययन प्रणालीमा आवद्ध हुन्थे । ‘गुरुर्बह्मा गुरुर्विष्णु’ को आदर्श अवलम्वनगर्ने त्यो प्रणालीमा गुरु र गुरुको शिक्षण अभ्यासभन्दा वाहिर जाने सम्भावना हुँदैनथ्यो । कोही गइहालेछ भने उसले आश्रम छोड्नुपर्थ्यो । यसैले अनुशासन, विद्याको गहिराई, नीति र नैतिकताको आर्जन, गुरु, समाज र अविभावक प्रतिको श्रद्धा त्यसवेलाका शिक्षाका देन वा उपलब्धि थिए ।
भारतीय उपमहाद्वीपमा अंग्रेजी शिक्षा
भारतीय उपमहाद्वीपमा आधुनिक पाश्चात्य शिक्षाको सुरुवातको इतिहास हेर्दा भारतमा अंग्रेजको शासनहुँदा वेलायतको रसदपानीमा भारतीय शिक्षाप्रणाली वुझ्न आएका मैकालेले दक्षिण एशियामा पश्चिमी शिक्षाको वीजारोपण गरेका थिए । त्यसवेला वेलायतको साम्राज्य लगभग विश्वव्यापी नै थियो । सूर्यास्त नहुने देश भनेर वेलायतलाई बुझिन्थ्यो । त्यसवेलाको विश्वव्यापी पकडलाई वेलायतले अंग्रेजी शिक्षाप्रणालीमा लर्ड मेकाले जस्ता इमान्दार अनुयायीका माध्यमबाट फैलाउन सफल भयो । फलतः भारत (अहिलेको पाकिस्तान, वाङ्लादेश, म्यान्मार, भूटान, श्रीलंका) भर वेलायतमा वोलिने अंग्रेजी भाषाको प्रचार तीव्र भयो । एकातिर औरङ्गजेव लगायतका मुसलमानहरू सनातन वैदिक हिन्दु शास्त्रका कट्टर विरोधी थिए भने अर्कातिर दक्षिणपूर्वी एशियामा वेलायती अंग्रेजी शिक्षण प्रविधिको व्यापकता बढ्दो थियो । त्यत्ति नै समय र विषय पढाउने अंग्रेजी शिक्षकले पाउने पारिश्रमिकको एक चौथाई पनि भारतीय संस्कृति र संस्कृत पढाउने गुरुले पाउँदैनथे । नयाँ रोजगारी दिनुपर्दा पनि अंग्रेजी पढेकालाई ग्राह्यता दिने गरेकाले प्राचीन संस्कृत र सांस्कृतिक गुरुकुलीय पठन पाठन प्रणालीमा राम्रोसंग धक्का लाग्यो । पूर्वीय दर्शन र सनातन हिन्दुशास्त्रलाई उछित्तो खन्न मुसलमानहरूको समेत आड मिलिरहेकाले त्यसवेलाका भारतका प्रचलित गुरुकुलीय संस्कृत अध्ययन अध्यापनमा अवरोध सिर्जना भयो । संस्कृतका पुस्तक जलाउने, संस्कृत पठन पाठनगर्नेहरुलाई तिरस्कृतगर्ने, उनीहरूको आजीविका नै वन्द गरिदिने जस्ता औपनिवेशिक धर्महरु फैलिए पछि र रोजगारीमा प्रभाव पर्नथाले पछि गुरुकुलीय गुरुकेन्द्रीत पठनपाठन पद्धतिमा वादल लाग्यो । गुरुकूलहरु नै क्रमशः बन्द हुन थाले ।
त्यसैवेलादेखि गुरुकेन्द्रित प्रणालीबाट विद्यार्थी केन्द्रित अध्ययन प्रणालीवारे वकालत हुन थाल्यो । ज्ञान स्वस्फूर्त हुन्छ, विद्या गुरुले दिने भएपनि ज्ञान विद्यार्थीले नै लिने भएकाले प्रणालीको छनौटको अधिकार विद्यार्थीलाई नै दिनुपर्ने तर्क अघिसार्न थालियो । ‘निम्न क्षमताका शिक्षक गफ गर्छ, असल शिक्षकले वताउँछ, त्यो भन्दा योग्य शिक्षकले ज्ञान प्रदर्शन गर्दछ र सबैभन्दा उत्कृष्ट शिक्षकले विद्या आर्जनको निमित्त प्रोत्साहित गर्छ’ भन्ने विद्वान् अर्थर वार्डको भनाइ अनुसार असल शिक्षकले अध्ययनको वातावरण सम्भव वनाई दिन्छ तर शिक्षा विषयक छनौटका वस्तुहरु विषयवस्तु, प्रणाली, घण्टा, विद्यालय, शिक्षक आदिको निर्णय विद्यार्थीले नै गर्छन् भन्ने पद्धतिको स्थापना गरियो । ग्यालिलियोले भन्नुभए अनुसार ‘कसैलाई पनि केही सिकाउन सकिदैन, तर गुरुले विद्यार्थीमा रहेको क्षमतालाई उजागर मात्र गरिदिन्छन्’ । त्यही सोच, प्रणाली र पद्धतिलेगर्दा गुरुकेन्द्रित अध्ययन अध्यापन विद्यार्थी केन्द्रितमा गएर अडियो । गुरुकुलीय शिक्षापद्धतिमा झन धक्का पुग्यो ।
शिक्षा प्रणाली विषयक वहस
विद्या, शिक्षा र ज्ञानका वीचमा सामिप्य र पृथक्ता धेरै छन् । शिक्षा प्रणाली गुरु केन्द्रित र विद्यार्थी केन्द्रित कुन ठीक हो भन्ने वहसको पनि लामो इतिहास छ । यद्यपि गुरुकेन्द्रित वा विद्यार्थी केन्द्रित कुन प्रणाली उपयुक्त हो भन्ने विषयमा छलफल गर्ने यो सानो लेखको उद्देश्य होइन । यसलेखमा आधुनिक शिक्षा प्रणालीका विषय र अध्यययन अध्यापन पद्धति एवं मानव समाजले शिक्षा आर्जनमा गरेको समय, श्रोत र उपलब्धिवारे भने केही चर्चा गर्ने प्रयास गरिएको छ । आधुनिक गुरुकेन्द्रित प्रणालीबाट विद्यार्थी केन्द्रित प्रणाली शिक्षामा अवलम्वन गरिदै आएको विषयलाई आधुनिक शास्त्रीय मतबाट हेर्ने हो भने ह्युमेन रिसोर्स डेमेलोप्मेन्टमा उपयोग गरिएका म्याचिङ मोडेलले समयको माग र आवश्यकता अनुसार वस्तु (जनशक्ति वा अन्य) उत्पादन हुन्छ भन्छ भने हर्वर्ड मोडेलका अनुसार ‘वस्तु उपयोग गर्नेको माग अनुसार उत्पादन अघि बढाउनु पर्दछ’ । शिक्षा पद्धतिको छनौटमा पनि यो सिद्धान्त लागु हुँदैन भन्न सकिदैन ।
यद्यपि विद्यालय, शिक्षक र ज्ञानका वीचमा निकै ठूलो भिन्नता छ । विद्यालय शिक्षाले रोजगारी, आय आर्जन, परिवार पालन, आर्थिक सम्प्रभुता जस्ता विषयलाई लक्षित गरेको हुन्छ भने मानवीय ज्ञानले मानवीय मूल्य, मान्यता, संस्कार, आचरण, आचार, व्यवहारलाई लक्ष गरेको हुन्छ । भौतिक जगतको लागि विद्यालय शिक्षाबाट पाइने उपलब्धि धेरै नै महत्वपूर्ण हुन्छ, तरपनि समग्र मानवत्वको विकासमा मानवीय ज्ञानको भूमिका वढी ओजिलो हुन्छ । ‘ज्ञानीले गरेर देखाउने कुरालाई विद्यार्थीले शिक्षाको माध्यमबाट ग्रहणगर्छ’ भन्ने अरिष्टोटलको भनाईले पनि ज्ञानको गहिराइलाई विद्यालय शिक्षाको सतही ज्वारभाटाले भेट्टाउन सक्तैन भन्ने स्पष्टपार्छ । यद्यपि ज्ञान र विद्या एक अर्कामा आवद्ध हुन्छन् । ज्ञान वा शिक्षा आर्जनको अर्को पाटो त्यै ज्ञान वा शिक्षा आर्जनगर्ने माध्यम पनि हो । श्रुति परम्परामा गुरुले उच्चारण गरेका शब्द, लय, ध्वनिहरु विद्यार्थीले लिन सक्नुपथ्र्यो । ह्रस्व वा दीर्घ उच्चारण गरेर अर्थ फरक पर्ने विषयलाई राम्ररी वुझ्नु पथ्र्यो । त्यो पद्धति नै पछि चित्रलेखन, शंकेत प्रणालीका रूपमा विकसित भएका थिए । ताल, स्वर, हात मुख गोडाको शंकेतका माध्यमबाट शिक्षा दिने र लिने हुन थाल्यो । पछि त्यो प्रणाली पनि भित्ते लेखन, थाम वा दलिनमा लेख्ने हुँदै व्लाक वोर्ड, ह्वाइट वोर्ड आदिमा अवतरित भयो । त्यसैका विकसित रूप रंगीन कलम र रंगीन चित्र हुँदै मल्टी कलरका रूपमा फैलियो । त्यसपछि कम्प्युटर युग आयो । पावर प्वाइन्ट, एक्सेल, फोटो आदिका माध्यमबाट विद्याको विनिमय हुन थाल्यो । विद्यादानको ठाँउलाई ‘कमाउँ र फाइदा लिउँ’ ले ओगट्यो ।
कोरोनाकालको नयाँ अनुभव
कारोना भाइरसले अहिले विश्व आक्रान्तहुन थालेको दुई वर्ष हुन थालिसकेको छ । यसवीचमा शिक्षापद्धतिमा र शिक्षाप्रणालीमा चुनौतीहरु थपिएका छन् । विद्यालयमा विद्यार्थीहरु पठाउन अभिभावकहरु तयार छैनन् र उनीहरु आफ्ना बालबालिकाहरुलाई शिक्षाबाट विमुख गराउन पनि चाहदैनन् । कम्प्युटर शिक्षाको माध्यम पनि संसारमा सबैतिर सरल र सुलभ छैन । विशेषतः अल्पविकसित देशहरुमा यो समस्या झन भयावह बन्दै गएको छ । अनलाइन कक्षा सञ्चालन गरेपनि विद्यार्थी र शिक्षकका वीचमा सामीप्य नहुनाले गर्दा लजालु र प्रविधिमा अदक्ष विद्यार्थी सिकाइमा ठगिने अवस्था भएको छ ।
विद्यार्थी केन्द्रित पद्धतिको अवलम्वनले जरो गाडेपछि अध्यापन पद्धतिमा पनि पृथक्ता अनुभव हुन थाल्यो । विद्यार्थीलाई पढाउनु भन्दा गराउनु, देखाउनु, लगाउनु, जिम्मेवार वनाउनु तिर पाठन प्रणाली केन्द्रित हुन थाल्यो । सिर्जनात्मक सिकाइ, श्रव्यदृश्य, बौद्धिक कसरत, अतिरिक्त कक्षा र कक्षा वाहिरका सिकाइ, भूमिका, खेल पढाइमा उत्प्रेरणाको वातावरण (ष्टिमुलेटिङ्ग, टिचिङ्ग इन्भायोरेन्मेन्ट) जस्ता शिक्षणविधिहरू विकसित हुन थाले । ती विधिहरु पनि सहभागिता, प्रदर्शन, रिसाइटेशन, स्मरण वा यिनीहरूकै एक अर्का वीचको समायोजन जस्ता तरिकाबाट प्रयोगमा ल्याउन थालियो । जे भए पनि विद्यार्थीले सिक्ने र शिक्षकले सिकाउने कुरामा दुविधा छैन । तर सिक्ने र सिकाउने प्रणालीमा भने श्रुति परम्पराको युगदेखि कम्प्युटर युगसम्म आइपुग्दा निकैनै भिन्न्नता महसूस भैसकेको छ । फलतः गुरु केन्द्रित सिकाइ र विद्यार्थी केन्द्रित सिकाइका पक्ष विक्षहरू सतहमा छर्लङ्ग छन् । गुरुकेन्द्रित अवस्थाको अनुशासन, नैतिकता, मर्यादा, विश्वासलाई विद्यार्थी केन्द्रित प्रणालीबाट भोग्नु परेका अविश्वास, हत्या, कुण्ठा, अनुशासन हीनताले आत्मसात गरेका विषयलाई भने ज्ञान र शिक्षाका विज्ञहरूले जरैदेखि वुझेर उचित कदम चालिहाल्नु आवश्यक भएको छ ।
उपसंहार असल कुरा असल नै हुन्छ, चाहे त्यो पश्चिमी होस् वा पूर्वीय । अनुशासनहीन वनेर गुरुलाई गाली गलौच गर्ने, विद्यालयमा गुण्डागर्दी गर्ने, उपाधि पाइसकेपछि पनि सिलेवसले अपेक्षा गरेको शीप र दक्षता आर्जन नहुने, विदेशी विश्वविद्यालयहरुमा भर्ना गराउँन सकिने पाठ्यक्रमलाई प्रोत्साहन गरेर मौलिक संस्कृतिको उपेक्षा गराउने कुरा दीर्घकालमा पीडादायी हुन्छ । यस्तै विद्यार्थीको रुचि र क्षमताको वास्ता नगरेर लाद्ने र वाध्यपार्ने किसिमका पाठ्यक्रम र विधि पनि हितकारी हुँदैनन् ।