विश्व

अमेरिकाको लुइजियानामा अहिलेसम्मकै शक्तिशाली आँधी, क्षतिको विवरण संकलन हुँदै

AP Photo/Eric Gay

लुइजियाना । अमेरिकाको लुइजियानामा अहिलेसम्मकै शक्तिशाली समुद्री आँधीले जनजीवन प्रभावित बनाएको छ । आँधीले तटीय क्षेत्रमा डुबान बढाएको छ भने सात लाख मानिस विद्युत सेवाबाट बञ्चित भएको बीबीसीले लेखेको छ । मौसमविद्हरूका अनुसार आइडा नामक आँधी केही कमजोर भएर क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको छ । दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी मौसम विद्को छ ।


दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ । त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत समेत गराएका छन्। बीबीसीले लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सलाई उदृत गर्दै लेखे अनुसार महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार गरिएको छैन । हजारौँ मानिसहरू सुरक्षित स्थानतर्फ भागेका छन् ।

मानिसहरुलाई आँधी नरोकिएसम्म भित्रै बस्न भनिएको छ। कट्रिना आँधीले सन् २००५ मा १८ सय जनाको ज्यान लिएपछि त्यहाँ विपद्सँग जुझ्ने क्षमतालाई मजबुत बनाइएको थियो। राष्ट्रपति बाइडेनले आइडाले जीवन जोखिममा पार्ने भन्दै यसको क्षति तटीय क्षेत्रभन्दा भित्रसम्म हुने उल्लेख गरेका छन्।