विश्व

काबुल विमानस्थललाई लक्षित गरि हानिएका रकेट विफल पारेको अमेरिकाको दावी

Photo : REUTERS/Mohamad Torokman

काबुल । काबुल विमानस्थललाई लक्षित गरि हानिएका रकेटलाई आफ्नो क्षेप्यास्त्र प्रतिरोधक प्रणालीले विफल पारिदिएको अमेरिकाले दावि गरेको छ ।
अफगानिस्तान छोड्न लागेको अमेरिकी सेनाले अहिले काबुल विमानस्थलमा सुरक्षा घेरा बनाइराखेको छ । अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले विदेशी सेनालाई देश छोड्न निर्धारण गरेको समयसीमा सकिन लागेको छ । ३१ अगष्टसम्म सेनाले विमानस्थल छाड्नु पर्छ । अमेरिकाका अनुसार सोमवार बिहान कम्तीमा पाँचवटा रकेटलाई खसालिएको छ ।

बीबीसीले लेखे अनुसार यो घटनामा अमेरिकी सेनापट्टि कोही हताहत भएको सङ्केत आएको छैन । केही स्थानीयवासीले छर्रा आफ्नो घरमा खसेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमले प्रकाशित गरेका भिडिओ र तस्बिरमा काबुलका छतबाट धुवाँ निस्किएको र एउटा जलेको गाडी सडकमा देखिएको समेत समाचारमा उल्लेख छ । अफगान सञ्चारमाध्यमका अनुसार एउटा सवारीसाधनको पछाडिपट्टिबाट रकेट आक्रमण गरिएको थियो।