समाचार

डब्चूएचओका उच्चअधिकारी सहित क्षेत्रिय कार्यकारी समितिको बैठक नेपालमा हुने

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का उच्च अधिकारी संलग्न रहने क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा आयोजना हुने भएको छ । राससले लेखे अनुसार बैठक २१ भदौदेखि २५ भदौसम्म काठमाडौंमा हुने भएको छ । बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारी, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधि उपस्थिति हुने भएका छन् ।

बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुने समेत राससले लेखेको छ । बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ।

बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ । दक्षिण–पूर्वी एशिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्का, थाइल्याण्ड, भुटान, दक्षिण कोरिया र टिमोर–लेट्सेलगायत देश छन्।