फिचर

सेप्टेम्बरका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन गन्तब्यमा कति ?

File Photo

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालीका अनुसार नेपालले उडान खुला गरेका र नेपालबाट हुने उडानलाई अनुमति दिएका मुलुकमा करीव साविककै हाराहारीमा उडान हुन थालिसकेको छ । अर्थातः अब वायुसेवा कम्पनीले यात्रुको माग अनुसार नै उडान अनुमति लिन थालिसकेका छन् । यसले उडान संख्या समेत वृद्धि भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सातामा १० उडान हुनेछ । नेपाल एयरलाइन्सले दैनिक एक उडान र एयर इण्डियाले सातामा तीन (आइतबार, मंगलबार र शुक्रबार) उडानको अनुमति पाएको छ । यूएईको सारजहा विमानस्थलमा एयर अरेवियाले हरेक दिन दुई उडान गर्नेछ ।

एयर अरेवियाले आबुधाबीमा समेत हरेक दिन उडान गर्न अनुमति पाएको छ । फ्लाई दुबईले दुबई इन्टरनेसनल एयरपोर्टबाट सातामा १० उडान गर्नेछ । हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको ६ उडान (सोमबारबाहेक) र दुबई विमानस्थलमा शुक्रबारबाहेक साताको ६ उडान गर्नेछ । कतारको हमाद इन्टरनेशनल विमानस्थटलमा हिमालयको जहाजले सातामा कुल ७ उडान गर्नेछ । जजिरा एयरवेज कुवेतबाट हरेक दिन काठमाडौं आउने छ ।

कोरियन एयरले हरेक बुधबार काठमाडौं उडानको अनुमति लिएको छ । मालिन्दो एयरले क्वालालाम्पुरबाट साताको चार (सोमबार, बुधबार, शुक्रबार, शनिबार) काठमाडौं उडान गर्नेछ । मलेसिया एयरलाइन्स हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौं आउने छ । नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेसनलमा हरेक दिन एक उडान गर्नेछ ।

दुबई इन्टरनेसनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामार चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्ने तालिकामा उल्लेख छ । मलेसियाको क्वालालाम्पुर विमानस्थलमा समेत नेपाल एयरलाइन्सले सातामा चार (आइतबार, मंगलबार, बिहीबार र शुक्रबार) उडान गर्ने तालीका छ । जापानको नारितामा नेपाल एयरलाइन्सले हरेक बिहीबार उडान गर्नेछ । हङकङमा हरेक मंगलबार नेपाल एयरलाइन्स जाने छ ।

कतार एयरवेजले कतारको हमाद इन्टरनेसनल विमानस्थलमा दैनिक तीन उडान गर्नेछ । सलाम एयरले मस्कट विमानस्थलबाट साताको तीन दिन (आइतबार, मंगलबार र बिहीबार) काठमाडौं उडान गर्नेछ । टर्कीस एयरले सोमबार, बिहीबार र शनिबार काठमाडौंमा उडान गर्नेछ । सिंगापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलंकन एयरलाइन्सले मंगलबार र शनिबार गरि सातामा दुई उडान गर्न अनुमति पाएको छ ।