विश्व

अफगानिस्तानमा तालिबानको सरकार बनेसँगै चीनले गर्यो ठूलो सहयोगको घोषणा

Photo:China's Foreign Ministry

काठमाडौं । अफगानिस्तानमा तालिवानले सरकार गठन गरेसँगै चीनले ठूलो धनरासी सहायता घोषणा गरेको छ । चीनले अफगानिस्तानलाई तीन करोड दश लाख डलर बराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको बीबीसीले लेखेको छ । सो सहयोगमा खानेकुरादेखि कोरोनाभाइरस विरुद्धको खोप समेत छ। बेइजिङले तालिबान सरकारसँग सम्बन्ध कायम राख्न आफू तयार रहेको बताइरहँदा त्यस्तो सहायता प्रदान गरिने समाचार सार्वजनिक भएको छ ।

चीनका अनुसार नयाँ अन्तरिम सरकारको स्थापना अफगानिस्तानमा शान्ति सुव्यवस्था कायम गर्न आवश्यक कदम हो। तालिबानले हालै अन्तरिम सरकार गठन गरेको जनाउँदै देशलाई ूइस्लामिक अमिरात पनि घोषणा गरेको बीबीसीले जनाएको छ। चीनका विदेशमन्त्री वाङ्ग यीले बुधवार अफगानिस्तानका केही छिमेकी देशका आफ्ना समकक्षीहरूसँगको बैठकका क्रममा उक्त देशलाई दिइने सहायताको घोषणा गरेका थिए।

उक्त बैठकमा पाकिस्तान, इरान, ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानका मन्त्रीहरू सहभागी थिए। विदेशमन्त्री वाङ्गले ती देशहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै चीनले ३० लाख मात्रा खोप उपलब्ध गराउने पनि बताएका थिए। चीनले अफगानिस्तानबाट बाहिरिने अमेरिकी निर्णयको खुला रूपमा निन्दा गर्दै अमेरिकी सैनिकहरूले त्यहाँ विध्वंस मच्चाएको बताएको छ।