फिचर

नेपाल र बंगलादेशले बराबरी खेले

Photo : goalnepal.com

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशले दोस्रो मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । दशरथ रंगशालामा आइतबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । पहिलो मैत्रीपूर्ण खेल भने नेपालले २, १ ले जितेको थियो । दोस्रो खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका थिए ।

गोलकिपर एन्जिला सुब्बा, मिडफिल्डर मन्जली कुमारी योन्जन र अघिल्लो खेलमा डेब्यू गर्दै गोल गरेकी सबिता रानाको स्थानमा अन्जना राना मगर, अनिता बस्नेत र रश्मि कुमारी घिसिङले खेले । अघिल्लो खेलमा नेपालले २३ मिनेटभित्रै दुई गोल गरेको थियो । तर दोस्रो खेलमा भने बंगलादेशले नेपाललाई रोक्न सफल भयो । दुबै टीमले पाएका गतिला अवसरलाई उपयोग गर्न सकेनन् । अब नेपाल र बंगलादेशले एएफसी महिला एसियन कप छनोटमा भाग लिनेछन् । यो खेल उज्वेकिस्तानमा हुनेछ । नेपाल समूह एफ मा छ । यस समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।