फिचर

नेपालबाट आशा बोकेर फर्कियो एमसीसी उपाध्यक्षसहितको टोली

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली स्वदेश फर्किएको छ । ४ दिने नेपाल भ्रमण पूरा गरी फर्किएको टोलीले नेपालमा भएको संवाद सकारात्मक रहेको निष्कर्ष निकालेको छ । उपाध्यक्ष सुमारसहितको टोली आइतबार राती अमेरिका उडेको हो । उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो।

सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत शीर्ष नेतृत्वसँग पनि उक्त प्रतिनिधिमण्डलले एमसीसी परियोजनाबारे छलफल गरेको थियो।
प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र अन्य केही राजनीतिक नेतासँग पनि प्रतिनिधिमण्डलले भेटवार्ता गरेको थियो।

सबै भेटवार्तामा एमसीसी प्रतिनिधिमण्डलले नेपालको भौतिक पूर्वाधारको विकासका लागि परियोजना महत्वपूर्ण रहेको बताउँदै सहमतिमा एमसीसी पास हुने अपेक्षा समेत गरेको छ । सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारणलाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुनेछ।