विश्व

तालिबानले अफगानिस्तानमा छात्राका लागि तोक्यो नयाँ नियम

BBC

काबुल । अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजित गरी पोसाक सम्बन्धी नयाँ नियम लागु भएको छ । बीबीसीका अनुसार तालिबान सरकारले यस्तो जानकारी गराएको हो । उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने उल्लेख छ । उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने समेत जनाएका छन् ।

सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध थियो। तर, अब भने तालिबानले महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ। अगस्ट १५ तारिखमा सत्ता आफ्नो हातमा लिएसँगै उसले सुरक्षा अवस्थामा सुधार नआएसम्म जनस्वास्थ्यकर्मी बाहेक अन्य महिलाहरूलाई कामबाट टाढै रहन भनेको छ। आफ्नो शासनको सुरुवातको सङ्केत गर्नका लागि तालिबानले राष्ट्रपति भवनमा आफ्नो झन्डा फहराएको भोलिपल्ट तालिबानको उच्च शिक्षा सम्बन्धी नीति घोषणा गरेको हो ।

तालिबानले एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हालमा लिएको थियो। पछिल्लो नीतिले अफगानिस्तानमा तालिबान शासनसँगै व्याप्त परिवर्तनको सङ्केत गरेको छ। यसअघि छात्राहरूले पोसाक सम्बन्धी नियम पालना गर्नुपर्ने थिएन र महिला(पुरुष एकै कक्षामा पढ्न पाउँथे। छात्र छात्राहरूलाई प्राथमिक र माध्यमिक तहका विद्यालयहरूमा पनि अलगै पढाइनेछ।