फिचर

एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ यात्रुलाई फिर्ता गरियो

Photo source : technotrenz.com

काठमाडौं । एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ जना यात्रुलाई विमानस्थलबाटै घर फर्काइएको छ । अध्यागमन कार्यालयको तथ्यांक अनुसार आव २०७७\७८ मा उक्त संख्यामा यात्रुहरु घर फर्किएका हुन् । आवश्यक प्रक्रिया पूरा नगरी विदेश प्रस्थान गर्न लागेका यात्रुलाई नेपालबाट प्रस्थान अनुमति नदिई फिर्ता (अफलोड) गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

भिसा नभएका यात्रासँग सम्बन्धित कागजात शंकास्पद भएका, वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा कम भएको जस्ता कारणले विमानस्थलबार्ट फर्काइएको हो । गन्तव्य मुलुकको भिसा नै नभएका, भारत जाने भनेर तेस्रो मुलुक जान खोज्नेका, पहिलो पटक नेपाल हुँदै तेस्रो मुलुक प्रस्थान गर्ने भारतीयको साथमा दूतावासको अनुमति नभएका कारणले समेत फिर्ता हुनु परेको थियो ।

भ्रमण भिसामा जाने यात्रुको साथमा तोकिए अनुसार विदेशी मुद्रा नभएको, होटेल बुकिङ वा बस्ने स्थानको जानकारी नभएको, अध्ययन भिसामा जानेको हकमा शिक्षा मन्त्रालयको एनओसी नभएका यात्रुलाई समेत यात्रा गर्न दिइएको छैन । भ्रमणको उद्देश्य स्पष्ट नभएको वा प्रष्ट पार्न नसकेका यात्रु, कोभिड–१९ को संक्रमणका कारण गन्तव्य मुलुकले प्रवेशका लागि विशेष व्यवस्था गरेकोमा त्यो पूरा नगरेका यात्रुलाई समेत विमानस्थलबाट घर पठाइएको हो ।

उता, नेपालको विमानस्थलसम्म आएका ३२ जनालाई भने यो वर्ष नेपाल छिर्न रोक लगाइएको छ तथ्यांक छ । आर्थिक वर्ष २०७७\७८ मा विभिन्न मुलुकबाट विमानस्थलसम्म आएका ३२ जना यात्रुलाई सम्बन्धित मुलुकमा फिर्ता पठाइएको हो । राहदानी र भिसा शंकास्पद देखिएका यात्रुले नेपालमा अनुमति पाएका छैनन् । इन्टरपोलको डाटाबेसमा रहेको अभिलेखका आधारमा खोजी सूचीमा रहेका यात्रु र आपराधिक पृष्ठभूमि थाहा भएका व्यक्ति समेत फिर्ता पठाइएको छ । यो अवधिमा ४३० नेपालीलाई अन्य मुलुकले नेपालमा फिर्ता गरेका छन् ।

नेपालको विमानस्थलबाट विदेश प्रस्थान गरेका ४३० जना नेपालीलाई सम्बन्धित मुलुकले प्रवेश नदिएको तथ्यांक छ । आगमन अनुमति नपाई पुगेका, सम्बन्धित मुलुकको कानून विपरीत कार्यमा संलग्न भएका, भिसाको समयभन्दा बढी लुकेर बसेका, खाडीमा भिसाको म्याद सकिएपछि पनि काम गरिरहेका नेपालीलाई ती मुलुकले नेपाल पठटाएका हुन् । गैरकानूनी बाटोबाट लुकिछिपी विदेश पुगेका, भ्रमणको उद्देश्य स्पष्ट गर्न नसकेका, सम्बन्धित मुलुकले कालोसूचीमा राख्नु र कोभिड–१९ सँग सम्बन्धित मापदण्ड पालना गर्न नसकेका नेपाली घर फर्किएका छन् ।