समाचार

संविधान दिवसको मानपदवी बाउ र श्रीमतीको मुख हेर्ने दिन हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएसँगै समान्ती युग अन्त्य भएर नयाँ युगको सुरुवात भएको बताएका छन् । एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले संविधान जारी भएसँगै वास्तविक जनताको राजको युग सुरु भएको बताएका हुन् ।

उनले संविधानले असमानता, थिचोमिचो र भेदभावको युगको अन्त्य गर्ने र नयाँ युगको नयाँ विहानीको प्रारम्भ गरेको बताए । संविधान बनाउने क्रममा स्वार्थ समूहहरू तानातान भएको स्मरण गर्दै उनले भने, ‘विभिन्न देशका संविधानसँग तुलनात्मक अध्ययन भए । विगतका अनुभवलाई ध्यानमा राखेर नेपालको संविधान निर्माण गर्‍यौँ । यद्यपि, त्यसक्रममा स्वार्थ समूहहरु तानातान भए । आफ्ना अधिकार हितलाई सुनिश्चित गर्नु स्वभाविक भए । विभिन्न शक्तिका दबाब झेलेर पराजित गरेर संविधान जारी गर्‍यौँ ।’

जनतालाई सम्पूर्ण स्रोत मानेर संविधानमा वर्चश्व हासिल गरेको बताउँदै उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो सार्वभौमसत्ता मूल संविधानमा वर्चश्व हासिल गरे । जनता नै सम्पूर्ण शक्तिको स्रोत हुन भनेर व्यवस्थित गरियो । यस दिनको असाधारण महत्व छ । त्यसैले राष्ट्रिय दिवस भन्यौं । कुनै कुल घराना व्यक्ति होइन जनता सर्वोपरि हुन्छ । संविधानमार्फत व्यवस्थित गरिएको छ । जनतामा रहेको सार्वभौमसत्ता सम्पूर्ण हिसाबले जनतामा संवैधानिक सर्वोच्च कायम भएको हिसाबले यो दिन विशेष छ ।’

‘नेपाली जनताले गरेको त्याग बलिदान र योगदान गलत थिएन । समानता र न्यायका लागि योगदान गरे । ति सबैको संविधानले सम्मान गरेको छ । सफलताको आसनमा ल्याएको छ’, अध्यक्ष ओलीले भने, ‘यसले सापेक्षित रुपमा भन्ने हो भने राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्था अन्त्य गरेको छ । साथसाथै संविधान जारी हुने कुरामा नेपालमा एउटा ठूलो बहसको विषय राजनीतिक आन्दोलन क्रान्ति परिवर्तनका लागि हिंसा अनिवार्य हो कि हैन भन्ने प्रश्न छ । हामीले अनेकौँ सशस्त्र युद्ध रोक्यौं । हतियारमात्रै परिवर्तन होइन । परिवर्तनका लागि हिंसा आवश्यक छैन । यो स्वीकार्य पनि छैन भनेको छ ।’

समानुपातिक समावेशी सहभागिता, पछाडि परेको समुदाय अगाडि बढाउने नीति निर्माण, जनप्रतिनिधिमुलक संस्था जनताको सामाजिक जीवन सबैको प्रतिनिधित्व हुन सकेको ओलीको भनाइ छ । साथै उनले नेपालको संविधान सर्वस्वीकार्य भएको दाबी गरे । संविधान संशोधनका नाममा विदेशी गुहार्ने काम भएको उल्लेख गर्दै ओलीले देशी विदेशी अवरोध भए पनि एमालेको नेतृत्वमा संविधान सर्वस्वीकार्य भएको जिकिर गरे ।

‘विदेशमा गएर संविधान संशोधन गर्न सकिएन, तपाइँले सहयोग गरिदिनुपर्‍यो भनियो सर्वस्वीकार्यताको नाममा । तर, अहिले स्वीकार्य भएको छ । विरोध गर्ने शक्तिहरुले स्वीकारेका छन् । संवैधानिक प्रक्रियामा सहभागी भएका छन् । अहिले संविधान सर्वस्वीकार्य भएको छ । मूल्यमान्यताहरू सर्वस्वीकार्य भएको छ । सर्वस्वीकार्य बनाउने काममा एमालेले अगुवाइ गरेको छ । हाम्रो पार्टी गर्व गर्छ,’ उनले भने ।

ओलीले संविधानको रक्षा, विकास र कार्यान्वयनमा ध्यान जानुपर्ने औल्याउँदै आफ्नो पार्टीले प्रभावकारी भूमिका खेल्ने बताए ।

साथै उनले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकोमा आक्रोश पोखेका छन् । सरकारले सातौं संविधान दिवसका अवसरमा सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाल, माधव कुमार नेपालका पिता मंगलकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पदक दिने निर्णय गरेपछि ओलीले आक्रोश पोखेका हुन् ।

‘आजको गठबन्धनले के गर्दैछ, ७० दिनमा पूर्णता पाउन सकेको छैन । कति हाइसञ्चो छ हेर्नुस् त । संविधान दिवस जनताले मनाउन पाउनुपर्ने, सहिदका परिवारले खुसियाली मनाउन पाउने, मनाउने अवसर छैन । जनतालाई होइन बालाई सम्मान ? श्रीमतीलाई सम्मान ? अघिल्लो पटक सुपत्रीलाई सम्मान, अर्को सुपुत्रलाई महान सम्मान ? कस्ता भोका, झुटाहहरू सत्तामा पुगेका रहेछन्, कस्तो अचम्म,’ ओलीले भने ।

उनले प्रचण्डकी श्रीमती र माधवका पिताले पदक पाएको तर्फ संकेत गर्दै सोधे, ‘शहिदका आमा, बुवा, छोराछोरीले नपाउने ? आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’

बाहिर जनताका लागि राजनीति गरेको भन्ने र मौका पाएका परिवारका सदस्यलाई बोक्ने भन्दै ओलीले पदक पनि लजाएको टिप्पणी गरे ।

‘कस्तो भोक, आकांक्षा, तृप्ती हो ? बाहिर म जनताका लागि हो भनेर बोल्ने, परिवारका लागि होइन भन्ने । मौका पाउँदा हेर्नुस् त । ति विभूषण, मानपदवी लजाइरहेका छन्, हेर्नुस् त शरम मान्या छन् । बोल्न सक्ने भए उफ्रिन्थे तिनी । तर, बोल्न सक्दैनन । लज्जाजनक छ,’ उनले भने ।

आफ्नो सरकारविरुद्ध लेख्ने पत्रकारलाई पदक बाँडेको भन्दै ओलीले आक्रोश पोखे । ’अघिल्लो लोकप्रिय सरकार, सुशासन पक्षको सरकारका एक पनि सकारात्मक समाचार नदिने सञ्चारमाध्यम र तिनका पत्रकारलाई छानीछानी पदक दिएको छ । खोजी पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा लागेकालाई दिए हुन्थ्यो,’ उनले भने ।

झगडिया, मुद्दा हाल्ने, तथानाम बोल्ने, जे पायो त्यहीँ बोल्नेलाई पदबाट सम्मानित गरेकोमा ओलीको आक्रोश थियो । ‘दुईचार छुटे जस्तो लाग्यो । तिनलाई किन छोडेको होला ?’ ओलीले प्रश्न गरे, ‘मुद्दा जिताइदिने, हराइदिने, कता तराजु फर्काइदिने, आँखामा पट्टी बाँधेको हुन्छ । न्यायमूर्तिहरुले तराजु कता फर्काइने ? सबैका लागि यो लज्जाजनक विषय हो । इतिहासले निर्मम मूल्यांकन गर्नेछ ।’

आफ्नैलाई बाँड्ने राष्ट्रपतिबाट नभइ सिधै घर लगेर बाँड्न उनको सुझाव थियो । ’किन राष्ट्रपतिबाट बाँडिरहनुप¥यो ? आफैँ आफैँ घर लगेर जाउ न । आफैँ बाँडौं न,’ उनले भने ।