बिचार

ज्ञान सनातन : पार्वणश्राद्ध के हो ?

सुरेशराज पौडेल
उप्रा वाल्मीकि विद्यापीठ

सनातन वैदिक धर्म प्राचीन ऋषिमहर्षिद्वारा संस्कार गरिएको उत्कृष्ट धर्म हो । मानिस जन्मेपछि मर्दछ । जीवन रहेसम्म राम्रा काम गरेमा पूण्य र नराम्रो गरे पाप भोग्नुपर्दछ भन्ने पुराण र स्मृतिहरूमा उल्लेख पाइन्छ । मानिस जन्मँदा होस् या मर्दा विधिपूर्वक संस्कार गरिन्छ । असल संस्कार गरेर मात्र मनिस सुसंस्कृत हुने गर्दछ जुन कुरा आजीवन उसमा रहनुपर्छ ।
मानिस मरेपछि पनि और्ध्वदेहिक क्रिया (दहनदेखि सपिण्डीकरण) तेह्रौं दिनमा उत्तरपाथेय श्राद्ध सम्पन्न भएपछि वर्षदिनसम्मका मासिक श्राद्धहरू गरेर वर्ष दिनको वार्षिक श्राद्ध पूरा भएपछि पूर्णरूपमा प्रेतत्त्व निवृत्त भई मृतकले पितृलोकको यात्रा गर्दछ र आफ्ना पूर्व पितृहरूसँग गएर बस्न पाउँछ त्यसरी पितृपद प्राप्त गरेका पितृहरूले मात्र कर्ताले प्रदान गरेका कव्यवस्तुको भोग गर्न पाउँछ्न् र त्यही परम्परामा प्रत्येक मरेतिथिमा (क्षयाह) र पर्वमा श्राद्ध गरेर दिवंगत पितृहरूलाई खुसी पारिन्छ ।

श्राद्ध के हो ?

आफ्ना दिवंगत पितृहरूको सम्झनामा श्रद्धापूर्वक अन्न, जल, फूल, वस्त्रलगायतका विशिष्ट वस्तुहरू उचित समयमा सत्पात्रमा प्रदान गर्नु नै श्राद्ध हो । जसमा संस्कार गरिएका शुद्ध सात्त्विक व्यञ्जन, पक्वान्न, दूध, दही, घ्यु, फलफूल आदि वस्तुहरू पितृहरूको सम्झना गर्दै ब्राह्मणलाई दान गरिन्छ ।
संस्कृतव्यञ्जनाद्यं च पयोदधिघृतान्वितम् ।श्रद्धया दीयते यस्मात् श्राद्धं तेन प्रकीर्तितम् ।।

महामहोपाध्याय श्रीरुद्रधर पण्डितका अनुसार वेदोक्त मन्त्रद्वारा पात्रालम्भनपूर्वक ( तयार पारिएका विविध खाद्यपदार्थलाई छोएर )
पित्रादि देवताहरूको उद्देश्यका लागि द्रव्यत्याग विशेष कर्म नै श्राद्ध हो ।

श्राद्धं नाम वेदबोधितपात्रालम्भनपूर्वकप्रमीतपित्रादि उद्देश्यको द्रव्यत्यागविशेष : इति। (श्राद्धविवेक)

पार्वणश्राद्ध

पर्वणि यत् क्रियते तत् पार्वणम् अर्थात् औँसी वा पर्वको दिनमा गरिने श्राद्ध जसमा पिता, पितामह, प्रपितामह तथा मातामह, प्रमातामह,बृद्धप्रमातामह सपत्निकलाई पिण्ड दिइन्छ । यसमा पर्व भनेर चतुर्दशी, अष्टमी,औँसी र पूर्णिमा वा संक्रान्तिलाई लिइएको छ । महालय श्राद्धका छ वटा भेद रहेका छन् । तिथिनिर्णयअनुसार आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्म १६ दिन गरिने, आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म १५ दिन गरिने,पञ्चमी देखि चतुर्दशीलाई छोडेर औंसीसम्म दस दिन गरिने, अष्टमीदेखि चतुर्दशीलाई छोडेर औंसीसम्म सात दिन गरिने, दशमीदेखि चतुर्दशीलाई छोडेर औंसीसम्म पाँचदिन गरिने, चतुर्दशीलाई छोडेर मृततिथि एक मात्र तिथिका दिन गरिने गरी महालय श्राद्धका छ भेद बताइएको पाइन्छ । त्यसैगरी एकपार्वणक, द्विपार्वणक र त्रिपार्वणक गरी पार्वणश्राद्धका अन्य तीन भेदको पनि उल्लेख गरिएको छ । पितृहरूको मरण तिथिमा गरिने प्रतिसांवत्सरिक एकपार्वण, औँसी आदि ९६ श्राद्ध र नित्य श्राद्धहरू महालय अन्वष्टभिन्न श्राद्धहरू द्विपार्वणक, यिनीहरूमा सपत्निक पित्रादि तीनपुस्ता र सपत्निक मतामहादि तीनपुस्तासहित अन्वष्टका त्रिपार्णणक श्राद्ध हुन्छन्।

यावच्च कन्यातुलयोःक्रमादास्ते दिवाकरः।
शून्यं प्रेतपुरं तावत् वृश्चिकं यावदागतः।।(नि.सि.तृ. प.)

कन्या र तुला राशिमा सूर्य रहेको महालयमा सम्पूर्ण पितृहरू कर्ताका पितालाई अघि लगाई पितृलोक नै शून्य पारी आ आफ्ना तिथिका दिन सन्ततिहरूले पिण्डपानी दिन्छ्न् भनी बडो खुसी र उल्लाससाथ सन्ततिहरू बसेका घरवरपर तर्पण र पिण्डको आश गरेर घुमिरहन्छन् जब दुई दिनअगाडि कर्ताले पवित्र भएर ब्राह्मण निमन्त्रणा गर्दछ तिनै ब्राह्मणका शरीरमा प्रवेश गरी पितृहरू श्राद्धभूमिमा पुगी कर्ताले दिएको तर्पणको जल र पिण्ड प्राप्त गरेर तृप्त हुन्छ्न् र आशीर्वाद दिएर विदा हुन्छ्न् ।

आयु : प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च ।
प्रयच्छ्न्तु तथा राज्यं पितर: श्राद्धतर्पिता: ।।( मार्कण्डेयपुराण)

अर्थात् पितृहरू तृप्त भई खुसी भए भने आयु , असल सन्तान, ऐश्वर्य, विद्या, स्वर्ग , मोक्ष , सुख , र उचित भूमि प्रदान गर्दछन् भन्ने शास्त्रीय मान्यता रहेको छ ।
पर्व श्राद्ध अर्थात् पार्वण (सोह्र श्राद्ध, महालय श्राद्ध) श्राद्धमा विश्वेदेवको महत्वपूर्ण स्थान छ । दक्षकी पुत्री विश्वाका गर्भबाट उत्पन्न दश देवताको एक गण नै विश्वेदेवहरू हुन् । भिन्न भिन्न श्राद्धमा यिनको भिन्न भिन्न नामले पूजा हुन्छ ।

पुरुरवाद्रवौ चैव पार्वणे समुदाहृतौ । (निर्णयसिन्धु) पार्वणश्राद्धमा पुरुरव र आद्रव नाम गरेका विश्वेदेवको पूजा गरिन्छ । वसु,रुद्र र आदित्य पितृश्राद्धका देवता हुन् (वसुरुद्रादितिसुता पितरः श्राद्धदेवताः) भनी याज्ञवल्क्यस्मृतिमा उल्लेख गरिएको छ ।

चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा लोकप्रचलनको भाषामा सोह्र श्राद्ध भनिन्छ। किनभने एक पक्षमा १५ तिथि हुने भए पनि तिथिको घडीपला घटबढ हँदा भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसीसम्मका १६ तिथिको समूहलाई महालय भनिन्छ । यही महालयमा गरिने श्राद्ध भएकाले यस श्राद्धलाई महालय श्राद्ध र बोलचालको भाषामा सोह्र श्राद्ध भनिएको हो। विशेषत: कन्यायां अर्क:, कन्या राशिमा (आश्विन महिनामा सूर्य प्रवेश गरेको) सूर्य संक्रमण भएको आश्विन कृष्ण पक्षमा गरिने श्राद्ध नै महालय श्राद्ध हो ।कन्या राशिले युक्त पक्ष अत्यन्त पूण्य मानिएको छ । य कन्यकान्वित पक्ष सोत्यन्तं पूण्यमुच्यते । । आफ्ना पितादेखि माथिका तीन पुरुष अर्थात् पितृ, पितामह, प्रपितामह (बुवा, हजुरबुवा बुढाहजुरबुवा ) र मावलीतर्फका मातामह , प्रमातामह र वृद्धप्रमातामह (हजुरबुवा बुढाहजुरबुवा र जिजुबुवा ) को उदेश्य गरेर गरिने श्राद्ध पार्वण श्राद्ध हो । (त्रिपुरुषोद्देशेन यत्कृयते तत्पार्वणम्)
त्रीनुद्दिश्य तु यत्तद्धि पार्वणं मुनयी विदु : । (कालमाधवीय शातातपको वचन)
यसैगरी देवतालाई स्वाहापूर्वक वस्तु अर्पण गरिन्छ भने पितृलाई स्वधाको वचन प्रयोग गरिन्छ । यसैगरी देवकार्यमा भावको प्रधानता हुन्छ भने पितृकार्यमा वचनको प्रधानता रहने गर्दछ । त्यसैले पितृकार्यका निम्ति वचनमा विशेष ख्याल राख्नुपर्ने शास्त्रीय मान्यता छ ।

अक्ष्ययासनयोः षष्ठी द्वितीयावाहने तथा ।
अन्नदाने चतुर्थी स्यात् शेषा सम्बुद्धयस्मृता ।।

अर्थात् पितृलाई अक्षयोदक र आसन प्रदान गर्दा षष्ठी विभक्तिको प्रयोग गर्नु पर्दछ । यसैगरी पितृलाई आवाहन गर्दा द्वितीया विभक्तिको प्रयोग गर्नुपर्दछ । अन्नदान अर्थात् सिदा दान गर्दा चतुर्थी विभक्तिको प्रयोग गरिन्छ भने अन्य कार्यमा सम्बोधनको प्रयोग गर्नुपर्ने शास्त्रमा बताइएको छ ।

श्राद्धाधिकारी

जुन व्यक्तिको मरण हुन्छ उसका मरणपछिका प्रत्येक एकोदिष्ट र पार्वणश्राद्ध औरस ( सवर्ण विवाहित स्त्रीको पुत्र) पुत्रले सत्कार र समन्त्रक गर्नुपर्दछ ।
मातु : पितु : प्रकुर्वीत संस्थितस्यौरस : सुत : (नि.सि.तृ.प. पृ.५७० )पुत्रेषु विद्यमानेषु नान्यं वै कारयेत् स्वधाम् । (धर्मसिन्धु तृ.प.उ.) औरसपुत्रका अभावमा, नाति,पनाति,पुत्रिकापुत्र(छोरीको छोरो) पत्नी, दाजुभाइ, भतिज, पिता, माता, बुहारी, बहिनी, भान्जा, सपिण्ड दाजुभाइ, सगोत्र दाजुभाइ,समानोदक दाजुभाइ,सवर्ण सगोत्रमध्ये पहिलाका अभावमा क्रमशः पछिपछिका कर्तालाई श्राद्ध गर्ने अधिकार हुन्छ भनिएको छ ।

श्राद्धकर्ता र ब्राह्मण

अक्रोधनै: शौचपरै: सततं ब्रह्मवादिभि: ।
भवितव्यं भवद्भिश्च मया मया च श्राद्धकर्मभिः

कुनै पनि देव र पितृकार्यमा धार्मिक नियम र अनुशासनको पालना मुख्य मानिन्छ । आचारमा रहेर गरिएको कार्य सफल पनि हुन्छ श्राद्धमा पनि नियमको महत्त्वपूर्ण भूमिका रहन्छ ।श्राद्ध कर्ता आफ्ना पितृको श्राद्धभन्दा अगिल्लो दिन नङ् कपालदारी काटेर स्नान गरेर एकभक्त बस्नुपर्दछ ।भूमिमा सुत्नु , सत्य बोल्नु अभक्ष वस्तु भक्षण नगर्नु , तेल नघस्नु , र शौचाचारमारमा रहनु, क्रोध नगर्नु ब्रह्मवादी बन्नु, ब्रह्मचर्यमा रहनुपर्दछ । कुन उपायले पितृहरूलाई तृप्त पार्न सकिन्छ भनेर चिन्तन गर्नुपर्दछ । श्राद्धमा कस्ता ब्राह्मण पुज्ने वा कस्ता ब्राह्मणलाई दान दिने भन्ने कुरा पनि बुझ्न जरुरी छ । शास्त्रमा विशिष्ट गुण भएका ब्राह्मणहरू श्राद्धमा बोलाई श्राद्ध गराउनुपर्ने र दान गर्नुपर्ने उल्लेख छ।

अग्र्य : सर्वेषु वेदेषु श्रोत्रियो ब्रह्मविद्युवा
वेदार्थविज्ज्येष्टसामा त्रिमधुस्त्रिसुपर्णक : ।।
स्वस्रीयऋत्विग्जामातातृयाज्यश्वशुरमातुला :
त्रिणाचिकेतदौहित्रशिष्यसंबन्धिबान्धवा : ।।
कर्मनिष्ठास्तपोनिष्ठा : पञ्चाग्निर्ब्रह्मचारिण :
पितृमातृपराश्चैव ब्राह्मणा : श्राद्धसंपद : ।। (याज्ञवल्क्यस्मृति : आचाराध्याय२१९- २२१

श्राद्धकाल

मानव जीवनमा समयको महत्त्वपूर्ण भूमिका छ ।गर्भाधानदेखि अन्त्य क्रियासम्मका हाम्रा हरेक कर्महरूमा आ-आफ्नो महत्त्व रहन्छ ।कुनै पनि कार्य गर्दा समयको सुक्ष्मदेखि स्थुल अवस्थाको ख्याल गरेर गरिएको कर्मले नै सार्थकता दिन्छ । हाम्रा ऋषिमहर्षिहरूले शास्त्रमा श्राद्ध गर्ने कालको उचित किसिमले वर्णन गरेका छन् । त्यसैले कुन श्राद्ध कुन समयमा गर्ने भन्ने कुरा स्मृतिहरूमा स्पष्ट उल्लेख पाइन्छ ।
आमश्राद्ध र वृद्धिश्राद्ध पूर्वाह्ण वा प्रात : कालमा , एकोदिष्ट र सपिण्डीकरण श्राद्ध मध्याह्न कालमा अनि पार्वणश्राद्ध (सोह्र श्राद्ध) अपराह्ण कालमा गर्नुपर्ने कुरा शास्त्रीय मान्यता छ । त्यसैले एकोदिष्ट मध्याह्नमा गर्नुपर्ने र पार्वण अपराह्णमा नै गर्नुपर्ने देखिन्छ । आमश्राद्धं तु पूर्वाह्ने एकोदिष्टं तु मध्यत : ।
पार्वणं चापराह्ने तु प्रातर्वृद्धिनिमित्तकम् । (हारित )
पूर्वाह्ने मातृकं श्राद्धमपराह्ने तु पैतृकम् ।
एकोदिष्टं तु मध्याह्ने प्रातर्वृद्धिनिमित्तकम् ।( कात्यायन परिशिष्ट )
महालयश्राद्धस्य षोडशदिन करणासंभवे कार्तिकदर्शे कार्यम् ।( प्रयोगपारिजात )
तत्राप्यसंभवे वृश्चिकसंक्रान्ते : प्रागेव कर्तव्यम् । (प्रमाणभाष्कर )
आश्विन शुक्ल पञ्चमीसम्म पनि गर्न सकिएन भने गाईतिहारे औंसीमा पितृश्राद्ध गर्ने विधान रहेको पाइन्छ । यदि यो समयमा पनि अबरुद्ध भएमा मङ्सिर संक्रान्तिसम्ममा तिथि र योग जुराएर गर्नुपर्दछ ।

निष्कर्ष;

त्यसैले देवता दिन्छन् पितृ हर्छन् भन्ने हाम्रो समाजमा प्रचलित भनाइ पनि छ । तसर्थ आफ्नो क्षमताअनुसार आफ्ना दिवंगत पितृहरूलाई खुसी पार्नु प्रत्येक सन्ततिहरूको परम कर्तव्य हो । आफ्ना पूर्वजहरूको योगदानको सम्झना गर्दै र हामीलाई सत्कर्मपथमा हिँडाउन प्रत्यक्ष र परोक्ष रूपमा गरेको सत्प्रेरणाको सम्मान गर्दै यथा काल, वस्तु, मनवचन र कर्मले श्रद्धापूर्वक पार्वणश्राद्ध अवश्य गर्नुपर्दछ । “श्रद्धया दीयते यत् तच्छ्राद्धम्” विना श्रद्धा श्राद्ध हुँदैन ।श्रद्धा नराखी गरिएको कर्मको कुनै फल हुँदैन ।