विश्व

फिलिपिन्सका राष्ट्रपतिले गरे सन्यासको घोषणा

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट सन्यासको घोषणा गरेका छन् । उनले आगामी वर्ष हुने राष्ट्रपति चुनावसँगै आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् । बीबसिीका अनुसार फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६ वर्षे कार्यकाल भन्दा बढी बस्न पाइँदैन । संविधानले राष्ट्रपति पदमै दोहोरिन नदिने भएपछि दुतेर्तेले यसअघि आउँदो वर्षको चुनावमा आफू उपराष्ट्रपति पदमा उमेदवार बन्ने बताएका थिए । तर उनी सो निर्णयबाट पछाडी हटेका हुन् ।


दुतेर्तेले छोरी सारा दुतेर्ते कार्पियोलाई आउँदो वर्षको चुनावमा राष्ट्रपति पदका लागि अघि सार्नसक्ने सम्भावना रहेको पनि बीबीसीले लेखेको छ । सारा दुतेर्ते कार्पियो यसअघि बुवाकै निर्वाचन क्षेत्र डाभाओको मेयर बनेकी छिन् । राष्ट्रपति दुतेर्ते खास सम्प्रदाय तथा धार्मिक समूहलाई लक्षित गर्दै विवादित अभिव्यक्ति दिने नेताको रुपमा चिनिन्छन् । उनको कार्यकालमा हजारौंको न्यायिक हत्या भएको आरोप लागेको छ । राष्ट्रपतिले भने लागुऔषध विरुद्धको युद्धमा उनीहरु मारिएको बताउने गरेका छन् ।