बिचार

हेर्दाहेर्दै फोहोरी बनेको न्युयोर्क सहर

कुमार न्यौपाने, न्युयोर्क

बार्षिक ३.३ मिलीयन टन फोहोर उत्सर्जन गर्ने न्युर्योक सहरले उक्त फोहोर व्यवस्थापनको लागी बर्षेनी झण्डै ५०० मिलीयन डलर खर्च गर्छ । प्रत्येक दिन बेलुका १३ हजार टन फोहोर सडक छेउ थुपार्ने यो सहरले हालसालै फोहोर उठाउन गर्ने खर्चमा १०६ मिलीयन कटौति गरेपछि सहरको ६०% प्रतिशत फोहोरको व्यवस्थापनमा अन्यौलता छाएको छ । एउटा प्रख्यात पत्रिका लेख्छ, New York City is the greatest in the World-for trash. २०३० सम्ममा ल्याण्डफिल्स साइट नै नचाहिने गरी फोहोर व्यस्थापन गर्ने महत्वाकांक्षी परियोजना ल्याउने भन्ने योजना बुनेको सहरको आजको अवस्था हेर्दा कतै हाम्रो सुन्दर मेयरका सय दिनको सय योजना झैं लाग्न थालेको छ ।


विश्वव्यापि रुपमा आफैंद्वारा उत्सर्जित फोहोरले जलवायू परीवर्तनमा पारेको प्रभावले अकल्पनीय परिणाम भोग्ने दिशातिर मानिसहरु पुग्दैछन । यो गम्भिर र गहन कुरा हो, पृथ्वी नै कसरी यतिविधि फोहोर भयो भन्दै खोज्ने हो भने हाम्रो गाँउघर, खोला खोल्साहरुमा फालिएका चाउचाउका खोलहरु, प्लास्टिकका बोतलहरु जिम्मेवार छन तर मात्रा र असरको हिसावले भने हजारौं गुणा जिम्मेवार ठुला खरबौं डलर कमाउने उद्योगहरु छन । अरबौं अरव पोल्टामा हाल्ने समाज र मानिसहरु मध्ये एक अमेरीकी, यसैको एक हिस्सामा पर्ने न्युयोर्कबासीहरुको नै शब्द पैंचो मागेर भन्ने हो भने न्युयोर्कको मेयर कामै नलाग्ने भए । त्यसो सुन्दै गर्दा काठमाण्डौंको मेयर बिद्यासुन्दरका सय दिनका सय योजनाको याद आयो । काठमाडौं र बिद्यासुन्दरसंग दाँज्न खोजेको त हैन तर यो सहरलाई मैले देखेदेखिको मात्रै कुरा गर्ने हो भने सफा र स्वच्छताको अवस्था निकै खस्केको छ ।

एक दिन न्युयोर्क सहरको म्यानह्याटनको झण्डै मध्यतिर पर्ने युनियन स्क्वायर पार्कको बेन्चमा बस्दै गर्दा एक रैथाने न्युर्योकेलीले लोखर्केलाई बदम दिदै गरेकी बृद्घालाई फत्फताउँदै कराएको शब्दहरु पनि याद आयो । तिनी भन्दैथिए, के तिमीले यो लोखर्केलाई बदम ख्वाउदैछौ भन्ठानेको ? तिमीले त यो सहर चलाउने भ्रष्ट मानिसहरु र प्लेग फैलाउने मुसाहरुलाई सपोर्ट गर्दैछौ । यति भन्दै तर्कदै गर्दा ति बदम छर्दै गर्ने बृद्घाले कति बुझिन र मैले कति बुझें । त्यो बेला यस्तो भनाई सुन्दै गर्दा अप्रिय लागेको भएतापनि आज आएर ति व्यक्तिको भनाई साँचो हुदै गइरहेको न्युर्योक सहरको सव वे ट्रेन स्टेसनहरुमा देखिने मुसाका बथानहरु, बोतल र प्लास्टिकको थुप्रो र जमेका पानीमा भन्किएका झिङ्गा र लामखुट्टेहरुले देखाउन थालेका छन । कयौं सुकिला मानिसहरुले फोहोरका पोकाहरु फोहोर हाल्ने भाँडा आफ्नै अगाडि हुँदाहुँदै छेउमा फाल्दै लम्केको दृष्यहरु दैनन्दिन देखिन्छन ।


न्युर्योक सहरको मुटु मानिने टाइम्स स्क्वायर्स र वरपरको दृष्यहरुले दिनरात ननिदाउने विश्वको उत्कृष्ट सहर भनेर चिनिएको यो सहर किन “गार्बेजको सहर” बन्दैछ । स्थानीय पत्रपत्रिकाहरुको हेडलाइनले भन्न थालेको छ ‘फोहोरको डङ्गुरको सहर अव हाम्रो रहर’ । यसले के भन्दैछ भने न्युर्योकको सान मानिने म्यानह्याटनको केन्द्र यस्तो फोहोरी बन्दैछ भने कसैको आँखामा नपरेका सहरका अन्य भागहरुको हालत कस्तो होला ? यसो भन्दै गर्दा सहरको सबै ठाँउ यही हालतमा छ भन्ने होइन तर अधिकांश भागमा यस्ता दृष्यहरु सामान्य हुन थालेका छन । कुनै बेला यही अमेरीकाको कुनै ठाँउ बिशेषको सरसफाइ र स्वच्छताको उत्कृष्ट व्यवस्थापन देखेर दङ्ग पर्दै राम्रा भावनाहरु पोखेको थिंए तर आज केही समयदेखि बसोवास गर्दै आइरहेको सहर देख्दा देख्दै नियमकानुन नमान्ने, असहिष्णु, जथाभावि फोहोर फाल्ने, ध्वनि प्रदुषण (एम्बुलेन्स र दमकलका चर्को स्वरहरु, उश्रृङ्गखलरुपमा हाँकेर ध्वनि आतंक मच्चाउने डर्ट मोटरसाइकलहरु, पुराना ट्रेनका लिकहरुबाट निस्कने कर्कश आवाजहरु, बाटो थर्काउदै अन्य यात्रुहरु वा पैदलयात्रीहरुको सातो जाने गरी गीत बजाउँदै हुइकिने गाडीहरु) गर्ने सहरको रुपमा अघि बढिरहेको पाइन्छ । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको ख्याल राख्नुपर्छ नत्र दण्डित हुनुपर्छ भन्ने न्यायका सिद्घान्तहरु यतैतिरबाट सापटी मागी पढेको सम्झना आउँछ । मेरो अधिकार र मैले जे गरेपनि हुन्छ भन्ने म बादिहरुको संख्यामा बढोत्तरीको कारणपनि यी र यस्ता अफ्ठ्याराहरु झेल्न सर्वसाधारणहरु बाध्य छन ।


नगरपालिकाका कर्मचारीको आन्दोलन होस वा डम्पिङ्गसाइटको अव्यवस्थापन, जुनसुकै कारणहरु भएतापनि काठमाडौंको दिर्घरोगको रुपमा रहेको फोहोर व्यवस्थापन हामीले जीवनपर्यन्त देख्न भोग्न पर्ने देखिन्छ । बिभिन्न देशको उदाहारण दिइ अनेक बहानामा स्थायी समाधानहरु (मल वा मोहोर बनाउने कुरा) पन्छ्याउने काम सरकारी निकायहरुबाट नै भइरहेको छ । कयौं पल्ट फोहोरको थुप्रो छिचोल्दै हिंडनुपरेको सम्झना ताजै छ । कयौं नियम मिचेका घटनाहरु, कर्मचारीहरुले गर्नुपर्ने कर्तव्यबाट च्युत भएका अनुभवहरु छंदैछ, त्यस्तो बेला सोच्ने गरिन्थ्यो कि कुनै धनि देशमा यस्तो हुँदो हो त कस्तो सजायँ पाउथ्यो होला, कति जरिवाना तिर्न पर्थ्यो होला ! सुसासनले कसरी कठघरामा उभ्याउथ्यो होला । आज लाग्दैछ यी सबै एउटा मापदण्ड मात्रै हुन । नियम सबैले पालना गर्नु नै पर्छ भन्ने पनि लाग्न छोड्दैछ । यदि सबैले कडाइका साथ पालना गर्नैपर्ने हो भने न्युर्योक सहरको फोहोर उठाउने एउटा समय छ, कसरी फोहोर उठाउने भन्ने नियम र मान्यता पनि छ तर सधैं हामी के हेर्न बाध्य छौं भने तोकिएको समयमा फोहोर उठेको हुदैन, फोहोर थुपारेको ठाँउबाट पुर्णरुपमा फोहोर उठाइएको हुन्न र फोहोर फाल्नेले पनि फोहोर हाल्ने नियमीत झोलामा पोको नपारी जथाभावी छरपष्टरुपमा फालिएको देखिन्छ । यी दृष्यहरुले म जस्तो काठमाडौंको फोहोरदेखि आजित भएर धनि देशहरुमा कस्तो राम्रो व्यवस्थापन हुन्छ भन्दै आफ्नालाई गाली गर्ने मनहरुलाई झन बढी निचोरेको पाउँछु । फरक यत्ति हो कि यँहाका भित्ताहरुमा यहाँ फोहोर फाल्ने कुकुर अथवा गधा हुन भन्ने बाक्यहरु पढ्न पर्दैन ।
यति भन्दाभन्दै यो सहरले सहर सफा राख्नको लागी कयौं उपायहरु नअपनाएको भने होइन । फोहोरको वर्गिकरण गरी फोहोर जम्मा पार्ने प्रणाली । सड्ने, नसड्ने र फेरी प्रयोग गर्न सकिने (रिसाइकल) भिन्दाभिन्दै राख्नु भनेर फोहोर हाल्ने भाँडाहरु प्रसस्त रुपमा राखिएको देखिन्छ । कुनै पनि घरभित्र भान्छाका फोहोरहरु भिन्नै जम्मा गर्ने गरी व्यवस्थापन गरेको हुन्छ । सर्सर्ति हेर्दा यो नै राम्रो उपाय हो तर त्यसको पालना भयो कि भएन भन्ने सबैभन्दा महत्वपुर्ण मानिन्छ । सबैभन्दा समस्या नै यहिनेर छ । अधिकांसले फोहोर छुट्टयाएर नराख्ने, फोहोर उचित ठाँउमा नपु¥याउने र पुगेपनि राखिएको भाँडामा नहाल्ने, फोहोर उचित समयमा नउठ्ने र फोहोर उठाउने कर्मचारीहरुले त्यहाँ भएको फोहोर वा छरिएका फोहोरहरु सफासंग नउठाउने आदत नै यस सहर फोहोर देखिनुको मुख्य कारणहरु हुन ।
अर्को समस्या छ शौचालयको ।


सहरको जनसंख्या र आकारलाई हर्ने हो भने सार्वजनिक शौचालय निकै न्युन देखिन्छ । पार्क, सार्वजनिक स्थल वा पर्यटकीय स्थानहरुमा पर्याप्त सर्वसुलभ शौचालय नभएको कारण सहरबासी लगायत पर्यटकहरुले निकै सकस भोग्न परेको कुराहरु विभिन्न समाचार र सामाजिक संजालहरुमा समेत पढ्न पाइन्छ । कल्पना भन्दा पनि बाहिर लाग्ने तर बाटो हिंड्दा यदाकदा सडककै कुनाकप्चेराहरुमा निर्वाध पिसाव गरिरहेको दृष्यहरु सामान्य जस्तो लाग्न थालेको छ । पर्यटकहरुको समस्या एकातिर छदैछ त्यहि पर्यटकहरु बोकी सहरलाई चलायमान बनाउने ट्याक्सी, उवर र लिफ्ट गरी झण्डै एकलाखको संख्यामा रहेको सवारी साधनका चालकहरुको प्रमुख गुनासो नै सार्वजनिक शौचालयको पहुच नहुनु हो । यसको बिकल्पको रुपमा मानिसहरु बाध्य भई अस्वाभाविक रुपमा दिसापिसाव गर्न बाध्य भइरहेका छन । सहर झनै दुर्गन्धित बन्दैछ ।
यो सहर वरपर फोहोरलाई जम्मा गरी बिभिन्न प्रयोजनमा प्रयोग गर्न मिल्ने बस्तु बनाउने थुप्रै प्रशोधन केन्द्रहरु छन । तर ति पर्याप्त छैनन । फोहोर जम्मा गरी प्रशोधनको लागी न्युर्योकबाट पेन्सलभेनिया, ओहायो र साउथ क्यारोलीनासम्म पुर्याउनको लागी सयौं मिलीयन डलर बजेट खर्च पनि गरीरहेको छ तर समस्या ज्युँ को त्युँ किन छ त ! त्यस्ता फोहोर प्रसोधनपछि उत्पादन हुने मिथेन लगायत अन्य रसायनिक पदार्थको व्यवस्थापन नहुँदा विशेष गरी पानी प्रदुषित हुदै गएको पाइन्छ । सहरमा विभिन्न प्रयोजनको लागी प्रयोग भएको पानीलाई फिल्टर गरी पुनः प्रयोग गर्नमिल्ने बनाउने प्लान्टहरु प्रसस्त छन । तर फिल्टर गरीएको पानीको बिकार बस्तुहरुको बिसर्जन फेरी त्यही न्युर्योक सहर भइ बग्ने नदिहरु मै हुने गरेकोले बिशेषगरी इष्टरिभरको पानीको प्रदुषण स्तर निकै खराब छ, उस्तै उस्तै छ हडसनको पानी । समुन्द्रसंग प्रत्यक्ष जोडिएका नदिहरु भएकोले कतै बगाएर लैजान्छ भन्ने बिकल्पले पनि काम गरेको देखिदैन । अर्को तर्फ सहरबासीलाई जाडोको बेला घर तातो पार्न प्रयोग गरीने ग्यास र बिद्युत उत्पादन गर्ने नदिकनारका ठुला ठुला प्लान्टहरुबाट बिसर्जित रसायनिक पदार्थहरु र गर्मीको बेला प्रयोगमा आउने वातानुकुलीत मेसीनहरुबाट उत्सर्जन हुने ग्यास र रसायन मिसीएको पानी पनि त्यही नदिहरु मै निर्वाधरुपले फालिनुले नदिको पानी निकै प्रदुषित छ । यी र यस्तै समस्याहरुको समाधानको लागी न्युर्योक सहर वरपरको पानी र जैविकतालाई पुर्नजिवन दिन कै लागी ‘बिलीयन ओएस्टर रेस्टोरेसन प्रोजेक्ट’ संचालनमा ल्याएको बर्षौं भएतापनि खासै प्रगति नभएको देखिन्छ । बागमतीमा अरबौं खर्च भइसक्दा पनि फोहोर उत्तिकै हुनुमा जसरी बागमतीमा मिसाइएका ढलहरु र नदि किनारका कलकारखाना प्रमुखरुपमा दोषि छन त्यस्तै जति ठुलो प्रोजेक्टसहरु भएपनि नदिको पानीमा बिसर्जित पदार्थहरुको पुर्ण रोक नभएसम्म पानी सफा गर्ने मनसाय पुरा हुने देखिन्न । उत्सर्जीत चिजबस्तु वा पदार्थहरु्को बिर्सजन त हुनै पर्छ । बिसर्जनले फेरी उही मानिसहरुलाइ नै पिरोल्छ भने त्यस्तो पदार्थहरुको किन उत्सर्जन गरिएको होला ? सायद यी प्रश्नहरुको पुर्णरुपमा चित्तबुझ्दो उत्तर कोहीसंग पनि नहुन सक्छ ।


न्युर्योक भन्दा तिन दोब्वर जनसंख्या भएको टोकियोको फोहोर व्यवस्थापनको उत्कृष्ट उदाहारण न्युर्योकदेखि काठमाण्डौंसम्म सबैका लागी उपर्युक्त हुने देखिन्छ । टोकियोमा प्रयोग भएको फोहोरलाई पुन प्रयोग गर्नमिल्ने सामग्री बनाउने आधुनिक प्रविधिले फोहोरबाट निर्मित सामग्रीहरुबाट सहरलाइ नै आवश्यक पर्ने निर्माण सामग्रीहरु, साजसज्जा र ठुलाठुला पार्कहरु र हरियाली टापुहरु निर्माणमा उल्लेखनिय योगदान गरेको पाइन्छ । आज चिन, कोरीया, सिगांपुर, थाइल्याण्ड र कयौं युरोपेली मुलुकहरु लगायतका दर्जनौं देशहरुले सोही रिसाइकल प्रबिधि र फोहोर नष्ट गर्ने Incinerator प्रविधि अपनाउन थालेका छन । विश्वका उत्कृष्ट प्रमुख सहरहरु आधुनिक प्रविधिको प्रयोगमा न्युर्योक भन्दा अगाडि देखिएका छन । उनिहरुले सहरको फोहोर व्यवस्थापनमा “Pay as you throw” भन्ने नीति अपनाएको पाइन्छ । जसले सहरको फोहोरको व्यवस्थापनमा न्युर्योकले खर्च गर्ने परम्परागत करको पैसा भन्दा भिन्नै कोषको व्यवस्था गरी फोहोर उत्सर्जन गर्नेहरुलाई नै जागरुक र जिम्मेवार बनाएको पाइन्छ । आजको बिज्ञान र प्रविधिले सकिन्छ भने यस्ता सहरहरुको फोहोरको उचित व्यवस्थापन गरौं हैन भने व्यवस्थापन गर्नै नसकिने अजंगका सहरहरु निर्माणको के औचित्य !