विश्व

पाकिस्तानमा भूकम्प, कम्तिमा २० जनाको मृत्यु

Photo : India Today

कराँची । पाकिस्तानमा बिहीबार बिहान गएको भूकम्पमा परि कम्तिमा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । भुकम्पमा परि सयौं व्यक्ति घाइते भएका छन् । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि भागाभाग शुरु भएको थियो । यो भूकम्पबाट क्षति ठूलो भएको अनुमान छ ।

अहिले उद्धारको काम जारी रहेको बताइएको छ । बलुचिस्तान प्रान्तका आन्तरिक मामिलामन्त्री मिर जिया उल्लाहले अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । भूकम्पले घरहरु भत्किएका र बाटो अवरुद्ध भएका छन् । समाचार एजेन्सी एएफपीले जनाए अनुसार घरका छत र भित्ता भत्किंदा धेरै व्यक्तिहरु च्यापिएका छन् । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।