समाचार

काठमाडौं उपत्यकामा तयारी मासुको मूल्य निर्धारण

काठमाडौं । काठमाडौं उपत्यकामा तयारी मासुको मूल्य निर्धारण भएको छ । सरकार र व्यवसायीले एक वर्षका लागि तयारी मासुको बिक्री मूल्य निर्धारण गरेका हुन् । विभिन्न प्रकारका मासुको अधिकतम् खुद्रा बिक्री मूल्य निर्धारण गरिएको हो । वाणिज्य विभागसँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य गत वर्षकै लाई यथवत राख्ने सहमति भएको हो ।

राष्ट्रिय मासु व्यवसायी संघका अनुसार सो मूल्य एक वर्षका लागि मान्य हुनेछ । तोकिएको नयाँ मूल्य अनुसार खसीको मासुको मूल्यलाई तीन भागमा छुट्याएर मूल्य तोकिएको छ । आन्द्रा र भुँडी मिसिएको खसीको प्रतिकिलो मूल्य एक हजार रुपैयाँ तोकिएको छ । आन्द्रा, भुँडी र बोसो नमिसिएको तर बिक्रेताले छानेर दिने मासुको प्रतिकिलो मू्ल्य १२ सय रुपैयाँ बनाइएको छ । उपभोक्ताले छानेर खरिद गर्ने खसीको मासुको मूल्य किलोमा १३ सय रुपैयाँ तोकिएको छ ।

ब्रोइलर कुखुराको मासुको मूल्य तीन सय रुपैयाँ किलो कायम गरिएको छ । कुखुराको तयारी मासुको मूल्यमा किलोमा ५ देखि १० रुपैयाँ भने तलमाथि हुनसक्ने संघले जनाएको छ । उपभोक्ताले छानेर खरिद गर्न सक्ने राँगा र बंगुरको मासुको प्रतिकिलो मूल्य पनि ५ सय रुपैयाँ किलो कायम गरिएको छ ।

माछाको मूल्य भने उच्च उतार चढाब हुने भएकाले यकिनसंग तोक्न नसकिएको संघले उल्लेख गरिएको छ । बजारमा अत्यधिक मात्रामा रुचाईने रहु माछाको मूल्य किलोमा ३५० देखि ४ सय हाराहारी पर्ने संघको अनुमान छ ।