बिचार

रुदानेप्रति दुईशब्द

कुमार न्यौपाने, न्युयोर्क

केही समयअघि “रुपचन्द्र बिष्टको वायोपिक ‘रुदाने’ नाउँको चलचित्र बन्ने भयो” भनि एउटा समाचार निस्कियो । सोही समाचार पछ्याउँदै जाँदा चलचित्रको ट्रेलर पनि हेर्न पाईयो । हेर्दा खुसी लाग्यो, यो मानेमा कि आक्कलझुक्कल भएपनि उनै रुदानेको ओजमा हुर्कन पाएको थिएँ । संगसंगै चिन्ता पनि भयो कि उनको वास्तविक जीवनको संघर्ष, थाहाको सत्यसंगको सामिप्यताको आन्दोलनको उत्कर्ष, उनको राजनैतिक निष्ठा र जिवनको उत्तरार्धमा उनि माथि छरिएका केही भ्रम र मृत्युसम्मको कथा जिवन्त लयमा पर्दामा आउँछ कि आउँदैन होला ? किनकि उनिसंग म कतैकतै, झल्याकझुलुक भएपनि ठोक्किएको छु, मिथक झैं लाग्ने गरी उनको जीवन संर्घषहरु सुनेको छु । कसैको जिवनगाथालाई कलाको माध्यमबाट जीवन्त प्रस्तुति दिनसक्ने बलिउड र हलिउडको जस्तो अनुभव हाम्रोमा कमी छ । हाम्रो चलचित्र निर्माणको अनुभव हेर्दा यो बिधामा बिगतमा गरिएका कामहरु त्यस्तै देखिन्छ । के जुन व्यक्तिमा आधारित सामग्री प्रस्तुत गर्ने हो, सोबारे यथेष्ठ अध्ययन त गरिन्छ ? चलचित्रले सो व्यक्तिको व्यक्तित्वलाई न्याय त गर्छ ?


मकवानपुरको पर्यटकीय ठाँउ दामनमा जन्मिएका रुदाने (रुपचन्द, दामन, नेपाल) को जीवनिमा बन्न लागेको चलचित्रले हामीले बाल्यकालमा हेटौडाको सेरोफेरोमा भोगेका घटनाहरु र सुनेका कथनहरु बोक्छ कि बोक्दैन होला ? यस्तै प्रश्नहरु मनमा खेल्दै गर्दा आफैंसंग सम्बन्धित केही घटनाहरु सम्झन्छु । उनीसंगको पछिल्लो भेटका मुहारचित्र र शब्दहरुको सम्झना छ । त्यो मेरो बुवाको पाइला पच्छ्याउदै जाँदाको अवसरमा कुराकानीको सन्दर्भ हो । मेरा लागी २०५२ साल तिर कालिमाटिस्थित उनको निर्माणाधिन घरको आँगन, पुरानो कालो अनि फराकिलो मर्सीडिज गाडी, काठ र फलामका थुप्राहरु, भाँचिएका, च्यातिएका कुर्सीहरु र थाहाको प्रचारबाट जम्मा भएका जुटका बोराहरु भरीएका पाँच, दश, पच्चिस पैसे ढ्याकहरु सबै अनौठा र नौला थिए । त्यो देख्दा आज पनि आँखा ताजै भैदिन्छ । अझ उनले मप्रति प्रयोग गरेका शव्दहरु बेलाबेला मानसपटलमा आइरहन्छन । दुई हात जोडी नमस्कार साटासाट भएपछि उनले मेरो बुवालाई भनेका थिए । “दाजु, केटो त लाठे भएछ, के गर्दैछ आजकाल यो भाते ?” भातेको झटारो खाएपछि अलिपर लडिराखेको मुडा देखाउदै भने ‘थकाई लागेको भए उ त्यो उठाएर बस’ । म दंग यसैमा थिएं कि मेरो बुवालाई उनले तपाई भनेर सम्बोधन गरे र मलाई बस्न अनुरोध गरे । तर जेमा बस भनेका थिए, त्यसमा बडेमानको भ्वाङ्ग थियो, मैले यस्तो उस्तो भन्न सकिन र चुपचाप आफुलाई सम्हाल्दै बसें । आज लाग्दैछ, उनले हरेक नागरिकलाई सिकाउन खोजेको पनि यही होला, कि तिम्रो लागी कसैले गरिदिदैन । जे गर्नुछ आफैं गर । बुवासंगको दोहोरो गफगाफमा यही कुरा याद छ कि ति थुप्रा सिल्वरे ढ्याक पैसाको सटहीबाट केही थान विद्यालयहरु त बन्लान नि ? त्यो बनाउनु छ । जिवनको उत्तरार्धमा समेत रुदानेमा देखिएको नम्र भावमा पनि उही बेलाको जस्तो परिवर्तनकारी विचार नै थियो । युवाकालको जस्तो कुदाइ थिएन होला, भाषण थिएन होला, उत्तेजना नहोला, तर समाज (काम गर्नु भन्दा पहिला थाहा पाएर) यसरी नै बदल्न सकिन्छ भन्ने सोच भने बरावरी थियो । अझ उच्च थियो ।
हेटौंडा सिमेन्ट रोडको कच्चीबाटोमा धुलो उडाउदै कुदेको रातो भेस्पा स्कुटर, गाँउटोल थर्काउने त्यसको आवाज, स्कुटर अगाडी ठुलो सेतो अक्षरको थाहा चिन्ह, खैरो/कालो रङ्गको खुकुलो ओभरकोट, गह्रुगों आवाज र आँखाभरी एउटा जागरणको भोक । यी सबै मानसपटलमा नाच्छ आज र भन्छ त्यो मान्छे गज्जवको थियो र त्यो आवाजले बालक, युवा, बृद्धहरुको सामाजिक, आर्थिक समानता र न्याय बोल्थ्यो ।

उनी जति बजोडले भाषण गर्थे उस्तै बेजोडको लेखाई थियो । आफ्नो माटोको सुगन्ध बोल्ने उनको साहित्यिक कृतिहरुले एउटा सुन्दर सपना बोक्ने गरेको पाइन्थ्यो । त्यसले सदा परिवर्तन र विचार बोल्थ्यो, क्रान्ति बोल्थ्यो । उनी लेख्थे, “चारमाना माटोसंग तेरो नाता पर्यो भनेर
​​​​माटाको भाँडाले तँ सित दोस्ति गर्यो भनेर
​​​​बसिस कैद गमलामा सारा पृथ्वी छोडेर” ।
रुदाने नै नेपालको राजनैतिक इतिहासमा आफुले लेखेको पर्चा बिक्री गरी चुनाव लड्ने पहिलो नेपाली नेता बने । उनको राष्ट्रप्रेम र जनताको दुख प्रतिको आवाज सडक र सदनमा उस्तै गरी गड्गडाउँथ्यो । भ्रष्टाचारीहरुको दोहोलो काढ्ने क्षमता राख्ने रुदानेको अगाडी भ्रष्ट, बेइमानहरु टिक्न सक्दैनथे । थाहा अभियानलाई अघि बढाउदै लेखिएका उनका कृतिहरु निकै छन, ति मध्ये एक चर्चित भनाई यस्तो पनि छ ।
“बुद्धले थाहा पाएर बुद्ध बने
क्राइष्टले थाहा पाएर क्राइष्ट बने ।
संसारका सबै मानिसहरु थाहाका उपज हुन
सप्रेको देश थाहा पाएर सप्रे विग्रेका देश भ्रममा परेर विग्रे ।
भ्रमैभ्रममा वाँचेर बिग्रेको यो देशको एउटा नागरीक तपाई थाहा पाउँनुस, देश सप्रिन थालिहाल्छ ।”
आफुलाई चिन, आफ्ना कमिकमजोरी बुझ, आफैंलाई थाहा पाउ अनि मात्रै तिमीले परिवार, समाज र देश बनाउन सक्छौ । नत्र तिम्रो जिवन व्यर्थ छ । उनि यसै भन्थे । आफ्नो काम आफैं गर !
दुई बच्चाका बाबु रुदानेले विवाहका लागी असामान्य समय पौष महिना रोजे, भोजभतेरले सामाजिक न्यायमा विचलन ल्याउने भन्दै आफैले भोजको अन्त्य गरे । देश र समाज नै उनको पहिलो प्रथमिकता थियो, परिवारसंगसंगै हिड्न या समय दिन नसक्दा पारिवारुक सम्बन्ध उति प्रिय बनेन । तथापि नयाँ प्रयोगहरुमा बिश्वास गर्ने रुदाने कहिले चुनाव लड्थे, जित्थे/हार्थे, कहिले बाख्रा पालन गर्थे, कहिले महिनौं एकान्तमा हराउँथे । जनजनमा श्रुति झैं बनेका उनका कयौं गतिविधिहरु निकै चाखलाग्दा हुने गर्थे ।
ति मध्ये एक समय नारायणी नदिमा हामफाली आत्मदाह गरे या हराए भनि व्यापक चर्चा चलेको केही महिनापछि दार्शनिकको भेषमा प्रकट भई शिक्षा, स्वास्थ्य र सामाजिक रुपान्तरणको विषयमा गाँउगाँउ डुली नागरीकहरुलाई प्रशिक्षण गर्ने, एक घर एक श्रम भनि कुनैपनि बिकास निर्माणको काममा सबैलाई सहभागीता गराउँथे, गाँउगाँउ महिनौं डुल्दा सामान्य गरिव जनताले पकाएको खानेकुरा खाई उब्रेको छ भने त्यही मागी खान्थे र छिडिमा सुत्थे जस्ता कथाहरु प्रसस्तै छन । उनको अति सामान्य जिवनयापनले हरेक मानिसमा एक अलग छाप छोड्न सफल भएको थियो । एक सम्भ्रान्त परिवारका सदस्य भएतापनि समाज र सत्य, निष्ठा राजनीतिको लागी सबै सुखसुविधा त्यागेको उनको पाइलैपिच्छेको व्यवहारले देखिन्थ्यो ।
प्रायः सबैलाई तँ भनि सम्बोधन गर्ने रुदानेलाई यही आरोप थियो कि उनी निकै रुखो र बहुलठ्ठी मानिस हुन । जहिले पनि जनताको प्यारो नेता भएर वाँचेका नेता रुदाने कस्को आँखामा अटाउन सक्दैन थिए र कसले अनेक आरोप लगाउँथे होला, सामान्य रुपमा नै अनुमान गर्न सकिन्छ । प्रारम्भमा कम्युनिष्ट पार्टिको सदस्य लिएका रुदाने केही समयपछि नै पार्टी परित्याग गरी एक्लो अभियानमा हिडेको देखिन्छ । कुरा एक र काम अनेक गर्नेहरु कम्युनिष्ट हुन सक्दैन भन्ने रुदाने विचारमा कहिले विपी जस्ता देखिन्थे, कहिले चे जस्ता । जे भएपनि उनको द्येय नै अशिक्षाले व्याप्त समाजमा शिक्षा र प्रत्येक नागरिक आफै जागरुक नभै समाज परिवर्तन हुन सक्दैन र बेइमानी नेताहरुले अशिक्षा र सोझोपनको फाइदा लिइरहन्छन, जनता चुसिरहन्छन भन्ने थियो ।

उनको यो विचार त्यो बेला पनि सान्दर्भिक थियो, आज पनि छ र भोली पनि उत्तिकै रहिरहने छ । उनको बिषयमा बन्न लागेको चलचित्रले साच्चिकै उनको गहन विचार पर्गेलोस, नागरिकलाई फेरी जागरुक बनाओस र राजनीतिक बिकारहरुलाई पखालोस् ।