समाचार

एमाले महाधिवेशनमा १५३६ जना प्रतिनिधी सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय पार्टीले गरेको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले चितवनमा मंसिर १० देखि १२ गतेसम्म आयोजना हुने महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी गराउने पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकका लागि प्रस्ताव तयार पार्न बसेको स्थायी कमिटीले महाधिवेशनमा उक्त संख्यामा प्रतिनिधि सहभागी गराउने निर्णय गरेको हो । प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेपछि कार्यान्वयन हुनेछ । एमालेमा ७ लाख २१ हजार पार्टी सदस्य छन् । उनीहरूमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गरिने भएको छ ।

१०औं राष्ट्रिय महाधिवेशनमा पार्टीको भूगोल कमिटीबाट ११ सय ९६ प्रतिनिधि निर्वाचित भएर आउने छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा ३ जना समावेशी रूपमा चयन हुनेछन् । महाधिवेशनको तयारीका बारेमा निर्णय लिनका लागि एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार बोलाइएको छ ।