समाचार

तिहारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, कसले के भने ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् । भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी हुन् ।

झिलिमिली बत्तीको उज्यालोले औँसीको कालो अँध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सव पनि उनले भनेकी छिन् । दीपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्ने उनको भनाई छ ।

तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ ।

उता, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड १९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड १९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गरेका छन् ।

भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन् । सन्देशमा कोभिड१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने उल्लेख छ ।

प्रधानमन्त्रीले यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै आम नागरिक र राज्यका सबै निकायको आ-आफ्नै भूमिका एवं कार्यक्षेत्र रहने हुँदा सबैले आफ्नो भूमिकालाई बिर्सेर हिँड्न खोज्यौँ भने त्यसले हामी कसैलाई सफलता र खुशी दिन नसक्ने बताएका छन् ।