विज्ञान प्रविधि

रुसले बनायो भु-उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, झस्कियो अमेरिका

काठमाडौं । रुसले भू-उपग्रहलाई नै नष्ट गर्न सक्ने शक्तिशाली क्षेप्यास्त्रको परीक्षण गरेसँगै अमेरिका झस्किएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले खतरनाक र गैरजिम्मेवारपूर्ण क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको हो । उक्त परीक्षणका क्रममा एउटा रुसी भू(उपग्रह ध्वस्त बनाइएको बीबीसीले जनाएको छ ।

त्यसले अन्तरिक्ष केन्द्रमा अवशेषहरू उत्पन्न गर्दा त्यहाँ रहेका चालक दलका सदस्यहरूले पृथ्वीमा अवतरण हुने यानमा शरण लिनु परेको बताइएको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा हाल सात जना चालक दलका सदस्यहरू रहेका छन्। त्यसमध्ये चार जना अमेरिकी, एक जना जर्मन र दुईजना रुसी रहेका छन्। अन्तरिक्ष केन्द्रले पृथ्वीभन्दा करिब ४२० किलोमिटरको उचाइमा परिक्रमा गर्ने गर्छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले रुसी सङ्घले लापरबाहीका साथ आफ्नै एउटा भूउपग्रहमाथि एउटा एन्टी-स्याटेलाइट क्षेप्यास्त्र प्रहार गरेको जनाएका छन् । उनले उक्त परीक्षणले हालसम्म सहजै पत्ता लगाउन सकिने एक हजार पाँच सय टुक्रा अवशेषहरू उत्पन्न गरेको र त्यसभन्दा साना सयौँ हजार त्यस्ता अवशेषहरू उत्पन्न भएको बताएका छन् ।

रुसी अन्तरिक्ष एजेन्सीले भने यो घटनालाई कम महत्त्वपूर्ण भनेको छ। उक्त एजेन्सीले ट्वीट गर्दै एउटा मापदण्ड अनुसार चालक दलका सदस्य सुरक्षित स्थानमा सरेको बताएको छ।